पुस ३ - श्रम तथा रोजगार मन्त्री रहेका बेला म्यानपावर कम्पनी दर्ता गराइदिनका लागि घुस माग्दै गरेको भिडियो सार्वजनिक भएका कुमार बेलवासेलाई उनको पार्टी नेकपा (माले) ले भने सफाइ दिएको छ। सो प्रकरणमा मुछिएका पार्टीका वैकल्पिक केन्द्रीय सदस्य भाष्कर काफ्लेले पनि सफाइ पाएका छन्।
नेकपा (माले) को चितवन नारायणगढमा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले उनीहरुलाई सफाइ दिने निर्णय भएको हो। 'उहाँहरुले कुनै काम गरिदिने शर्तमा कोहीबाट कत्ति पनि आर्थिक लाभ लिएको देखिएन। त्यस कारण उहाँहरुमाथि लगाइएको आरोप निराधार हो भन्ने बैठकले निर्णय गरेको छ,' पार्टीले निकालेको विज्ञप्तीमा उल्लेख छ।
बैठकले गरेको निर्णयबारे जानकारी गराउन मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा पार्टीका महासचिव सीपी मैनालीले भने, 'पैसा लिएको पाइएन भनेर किटान गर्नु भनेको उहाँहरुलाई बैठकले सफाइ नै दिएको हो।' तर बेलवासेलाई थप लिखित प्रष्टीकरण सोध्ने र काफ्लेलाई निलम्बन मै राख्ने निर्णय पनि भएको छ।
मन्त्री बेलवासेले घुस मागेको भिडियो गत कात्तिकमा सार्वजनिक भएको थियो।
