४ पुस, नवलपरासी । बाँकेमा पेट्रोल छर्किएर युवतीलाई जलाएको घटना सेलाउन नपाउँदै नवलपरासीमा एसिड छर्किँदा अर्की एक महिला गम्भीर घाइते भएकी छन् । चितवन भरतपुर- ४ की जानुका शर्माले आफ्नी सौता रचना देवकोटालाई सलफरडाइ अक्साइड छर्केर घाइते बनाएकी हुन् ।
मंसिर १२ गतेदेखि डेरा गरेर शिवमन्दिरमा बसेका आफ्ना श्रीमान् कृष्ण शर्मा र रचना भएको ठाउँमा आएर जानुकाले एसिड छर्केको कावासोतीका प्रहरी निरीक्षक उमेश लम्सालले बताउनुभयो । एसिडले रचनाको अनुहार डढेको छ ।
स्थानीय महिलाले उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती ल्याइएका छन् । रचनालाई थप उपचारका लागि भरतपुर मेडिकल कलेज लैजान सिफारिस गरिएको छ ।
इलाका प्रहरी कार्यालय कावासोतीले जानुका शर्मा र कृष्ण शर्मालाई नियन्त्रणमा लिएको छ । कृष्णले रचनालाई यसअघि बिराटनगरमा राखेका थिए । दुई छोराछोरीका बाबु शर्माले रचनालाई लिएर हिँडेपछि जेठी श्रीमती जानुकासँग सम्बन्ध बिगि्रएको थियो ।
