Sunday, 23 December 2012
ध्रुवे निकुञ्जमा भौतारिँदै:-
चितवन, पुस ८ – माडीको गर्दी ९ मा बोटे दम्पती मारेपछि सेलिब्रेटी बनेको जंगली हात्ती ध्रुवे आइतबार दिउँसो चितवन निकुञ्जको मुख्यालय कसरा आसपास रहेको छ । हात्ती भौतारिरहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत हरेराम दासका अनुसार बिहान ३ बजे निकुञ्जको हात्तीसारमा रहेका पोथी हात्ती पछयाउँदै आएको धु्रवे अहिले निकुञ्ज आसपास सालघारीमा रहेको छ ।
दासका अनुसार हात्तीले शनिबार राति माडीको कल्याणपुर ६ हरिनगरका ५ वटा घर भत्काएको थियो । हात्तीको निगरानीमा रहेको टोलीका आधारमा ती घर धु्रवेले भत्काएको उनले दावी गरे । ‘मोवाइल टोली धु्रवेको पछि-पछि छ,’ उनले भने,’ कहिले हात्ती रेडियो कलर सम्पर्कमा हुन्छ, कहिले हुँदैन ।
उनले गोली हान्न खटिएको टोलीले ज्यान जोगाएर काम गर्नु परेको बताए । निकुञ्ज कर्मचारी र सेना देख्ना साथ हात्ती कुलेलम ठोक्ने गर्छ । ‘देख्ने बित्तिकै टाप कस्छ,’ उनले भने,’ घना जंगलमा फायर गर्न मिल्दैन ।’
हिजो दिनभर धु्रवे भौतारिदैं माडीको दक्षिण ठोरी पुगेको अनुमान निकुञ्जले गरेको थियो । त्यस अघि पश्चिम टाइगर टप्स र सुखीभार क्षेत्रमा रहेको थियो ।