पुष १३ । महिला हिंसा अन्त्यको माग गर्दै महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्वमा हस्ताक्षर संकलन भैरहेको छ । शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु बालुवाटरमा रहेको राष्ट्र बैंक अगाडि जम्मा भएका छन् । त्यही हस्ताक्षर संकलन गरिने सञ्जालले जनाएको छ । काठमाडौं विमानस्थलमा लुटिएकी महिला, अनमनगरमा रहस्यमय तरिकाले मृत्यु भएकी, बर्दिया र बारामा जलाएर मारिएका महिला सहित हिंसा पीडित महिलाले न्याय पाउनु पर्ने उनीहरुको माग छ । महिला अधिकारवादी, नागरिक समाजका प्रतिनिधि सहित २ सय बढी महिला पुरुषहरु प्ले कार्ड बोकेर प्रधानमन्त्री निवासको गेट न। ३ मा पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले धकेला धकेल गरेर उनीहरुलाई निवासको गेटबाट हटाएको सञ्जाल काठमाडौंका उपाध्यक्ष राधा पौडेलले बताइन् । सञ्जालले महिलामाथि जारी हिंसाको नैतिक रूपमा जिम्मेवारी लिई यसको छानविन र अन्त्यको लागि तत्काल प्रकृया थाल्न माग गर्दै बिहीबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।