Wednesday, 26 December 2012

बाबुरामलाई भुल्याउँदै महराको महाधिवेशन धन्दा प्रचण्डमाथि भट्टराईको अर्को प्रहार

अन्ततः प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डले भने पनि सरकार नछाड्ने स्पष्ट सन्देश लाजिम्पाटमा पठाएका छन्। त्यतिमात्र होइन प्रचण्डले आफूलाई दुःख दिएमा माघ अन्तिम सातालाई निर्धारित महाधिवेशन नै वार कि पार हुनेसम्मको चेतावनी पनि बाबुरामले अनौपचारिक रुपमा प्रचण्डलाई दिइसकेका छन्। बाबुराम पार्टीको नियन्त्रणबाट बाहिर जान लागेको संकेत मिलेपछि एमाओवादी अध्यक्ष प्रचण्ड र प्रभावशाली नेता कृष्णबहादुर महरा पनि बाबुरामलाई सरकारमै अल्मल्याएर महाधिवेशनमार्फत् पार्टीमा थप पकड स्थापित गर्ने रणनीतिमा जुटेका छन्। प्रचण्डका लागि अहिले महाधिवेशनसम्म बाबुरामलाई सरकारमै अल्मल्याउनु हितकर हुने सल्लाह उनका निकटस्थहरुले पनि दिएपछि बाबुरामलाई सत्ताच्यूत गर्न तत्पर भएका प्रचण्ड एकाएक व्याक भएका छन्। प्रधानमन्त्री भएपछि एकपछि अर्को निर्णयबाट जनतामा व्यापक अलोकप्रिय बनेका बाबुरामलाई सरकारमा राखेर अझै नंग्याउने र भारतको दलालका रुपमा स्थापित गरेर पार्टीभित्र तथा बाहिर सबैतिरबाट अलोकप्रिय बनाउने प्रचण्डको योजना सफल बन्दै गएको छ। बाबुराम जति असफल र अलोकप्रिय बन्दै जान्छन् त्यसको फाइदा प्रचण्डलाई मात्रै हुने भएकाले पनि उनलाई अझै धेरै एक्सपोज गर्ने प्रचण्डको योजना रहेको उनी निकट नेताहरु बताउँछन्। सत्ताका लागि बाबुराम पार्टी छाड्न वा पार्टी फुटाउन पनि तयार भएको सन्देश पछिल्लो पटक गएपछि पार्टी पंक्तिमा उनी महाधिवेशनको मुखमा आएर थप अलोकप्रिय बनेका छन्। जिल्ला सम्मेलनहरु चलिरहेका बेला त्यसको असर जिल्ला तहमा पनि पर्नेछ।
आफूले भरोसा गरेका र पार्टी संगठनमा पकड भएका अधिकांश नेताहरु पार्टीबाट अलग भइसकेका र वर्षमान पुन जस्ता आफैंले क्रेन लगाएर उठाएका युवानेता सत्तास्वार्थका कारण बाबुरामको गोटी बनिसकेको अवस्थामा प्रचण्डको सबैभन्दा भरोसा अहिले कृष्णबहादुर महरा बनेका छन्। माघमा हुने महाधिवेशनका लागि आवश्यक खर्चपर्च लगायत सबै कामको जोहो पनि महराले नै गर्न थालेका छन्। अहिले प्रचण्ड र महराको टोली सरकार बदल्ने भन्दै महाधिवेशनमा आफ्नो स्थिति अझ मजबुत बनाउने अभियानमा भिडेको छ। यो काममा महरालाई खटाइएको छ। महराको उद्देश्य प्रचण्डलाई अध्यक्ष बनाएर आफू महासचिव हुने हो। यसअघि नै मोहन बैद्य समूह अलग भएपछि महरालाई प्रचण्डले महासचिव बनाउन खोजेका थिए। तर बाबुरामले वर्षमान पुन उभ्याएपछि प्रचण्ड नैतिक संकटमा परेका थिए। आगामी महाधिवेशनमा पनि प्रचण्डले महरा र बाबुरामले वर्षमान वा टोपबहादुर रायमाझी उभ्याएमा सहमतिमा पोष्टबहादुर बोगटी महासचिव हुने सम्भावना छ। तर त्यसो भयो भने महराका लागि ठूलो बज्रपात हुनेछ। यद्यपि बाबुराम पक्षले अध्यक्ष प्रचण्ड भएपछि महासचिवमा उनकै समूहको व्यक्ति ल्याउन नहुने बताइसकेको छ। यो लडाइँमा नारायणकाजी श्रेष्ठले भने गिरिराजमणि पोखरेललाई उभ्याउने सम्भावना छ। नयाँ पुस्ता, प्रशस्त धनराशी, सत्ताको साथ र जनजाति समेत भएकाले बाबुरामको साथ पाएका वर्षमान आफ्नै गुरु महराका लागि दुश्मन बनेर खडा भएका छन्। यता प्रचण्ड र महराले सिर्जना गरेको मोहन बैद्यसँगको एकताको कथा पनि सोम शर्माको सातुको कथा जस्तै बनेको छ। पुसमै महाधिवेशन गर्न जुटेको नेकपा–माओवादी र एनेकपा माओवादीबीच एकताको सम्भावना समाप्त भएको छ। बैद्य पक्षसँग एकता गर्ने भनेर प्रचण्डले बाबुरामलाई तर्साउन खोजेको चर्चा पनि चलेको छ। प्रचण्ड पक्षले बाबुरामका कारण पार्टी फुटेको र बाबुरामका लागि प्रचण्डले मोहन वैद्य तथा रामबहादुर थापा जस्ता नेताहरुलाई त्याग्नुपरेको भनेर प्रचार गरे पनि बाबुराम पक्षले त्यसलाई ठाडै अस्वीकार गरेको छ। पार्टी बिभाजन मुख्य नेताको कारणमात्र हुने भन्दै पार्टीमा कुनै भूमिका नै नभएका बाबुरामलाई बिभाजनको दोष लगाउनुको कुनै तुक नहुने र बिभाजनको दोष प्रचण्डले नै लिनुपर्ने बाबुराम पक्षधर नेताहरु बताउँछन्। प्रचण्डले बाबुरामलाई प्रधानमन्त्रीबाट हटाउन नसक्ने भन्दै बाबुराम पक्षधर नेताहरु प्रचण्डले बाबुरामलाई ढाल्ने हैसियत पनि अब समाप्त भइसकेको बताउछन्। ‘सरकार कुनै हालतमा ढल्दैन, सेना समायोजन भइसक्यो, अब प्रचण्डसँग जनमुक्ति सेना पनि छैन, संविधानसभा बिघटन भइसकेको छ, संवैधानिक रुपमा अब प्रचण्डको हैसियत र प्रेमबहादुर सिंहको हैसियतमा फरक छैन।’ बाबुराम पक्षधर एक प्रभावशाली नेताले भने–’ठूलो पार्टी भन्ने अहम् बाहेक अब प्रचण्डसँग केही पनि छैन, प्रचण्डले भनेको कुनै कुरा मानिन्न। अब बैठकको अर्थ पनि छैन।’

You Might Also Like This

 

Pages