डिम्बासयको क्यान्सरको उपचारका लागि न्यूयोर्कस्थित एक अस्पतालमा उपचार गराईरहेकी अभिनेत्री मनिषा कोइराला डिस्चार्ज भएकी छिन् । अन्तराष्ट्रिय समाचार संस्था आईएएनएसका अनुसार कोइराला डिसेम्बर १८ तारिखमा डिस्चार्ज भएर होटलमा बस्न थालेकी छिन् ।मनिषाका प्रवक्ता सुवर्तो घोषले आइएनएसलाई भने-’मनिषाको स्वास्थ्य अबस्था स्थिर र सन्तोषजनक छ ।’ डिम्बासयको शल्यक्रियापछि स्वास्थ्य सुधार देखिएकाले डिस्चार्ज भएको उनले बताए ।
तर मनिषा अझै तीन चार महिना न्यूयोर्कमै रहनेछिन् । चिकित्सकको निगरानी जरुरी रहेकाले पूर्ण निको नहुँदासम्म उनी अमेरिकामै रहने बताइएको छ । उनका प्रवक्ताले मनिषा एकदमै आत्मबिश्वासी र सकरात्मक देखिएको बताएका छन् ।
पेट दुखेपछि करिव तीन साता पहिले काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना गरिएकी मनिषा कोइरालाको डिम्बासयमा क्यान्सर भएको र कलेजोमा पनि समस्या देखिएको पत्ता लागेको थियो । त्यसपछि उनलाई परिवारले मुम्बई हुँदै अमेरिका लगेको थियो । परिवारका सदस्यसले कलेजोको उपचारबारे केही बताएका छैनन् ।