विपक्षी दलले निषेधको राजनीति गरेकाले उनीहरूसँग त्यसैगरी प्रस्तुत हुने प्रधानमन्त्री बाबुराम भट्टराईले चेतावनी दिएका छन्।
‘अहिंसावादी दर्शनमा विश्वास राख्ने दलहरूले सहमतिसट्टा द्वन्द्व बढाउने काम गरिरहेका छन्,' ललितपुर बाँडेगाउँमा आइतबार आयोजित सन्तनेता कृष्णप्रसाद भट्टराईको ८९ औं जन्मोत्सव समारोहमा प्रधानमन्त्री भट्टराईले भने, ‘मार्क्सवादी दर्शनले मलाई ‘टिट फर ट्याट' (जस्तालाई तस्तै) गर्न सिकाएको छ। विपक्षीले सहमतिका लागि हात बढाएमा मेरो हात पनि सहमतिका लागि बढ्छ र द्वन्द्व बढाउन चाहेमा कसरी सहमति हुन्छ ?'
मुलुक असहज परिस्थितिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्तो अवस्थामा किशुनजीजस्ता निष्ठावान नेताको खाँचो महसुस हुने बताए। उनले भने, ‘किशुनजी गान्धीवादी हुनुहुन्थ्यो। कसैले एउटा गालामा हिर्काउँदा अर्को गाला थाप्ने। तर, अहिले निषेधको राजनीति हावी भएको छ। यसबाट सहमतिमा पुग्न सकिँदैन।' दलहरूबीच सहमति नभए वैशाखमा चुनाव हुन नसक्ने र जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्नसक्ने प्रधानमन्त्रीको चेतावनी थियो।
अहिले आफ्नो नेतृत्वको सरकारमा सहभागी भएपछि मात्र चुनावताका दोस्रो ठूलो दलको हैसियतले कांग्रेसलाई सरकारको नेतृत्व दिन सकिने उनले बताए। ‘संसद भंग भए पनि त्यसबाट निर्वाचिते सरकारले नै निर्वाचन गराउने परम्परा छ। वर्तमान सरकार संसदबाट निर्वाचित सरकार हो,' भट्टराईले भने, ‘त्यही भएर यो सरकारलाई निर्वाचन गराउने अधिकार छ।' संविधानसभा निर्वाचनबारे सहमति भए स्वतन्त्र व्यक्ति वा साना दलका नेताको नेतृत्वमा सरकार गठन गर्न सकिने विकल्प उनले प्रस्तुत गरे। कांग्रेस सभापति सुशील कोइरालालाई सहमतीय सरकारको प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गर्दै आएको कांग्रेस र एमालेका नेताले भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने बताउँदै आएका छन्। उनीहरूले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावसमेत अस्वीकार गर्दै आएका छन्।
आफू सहमतिको बाधक नभएको भन्दै आवेशमा आएर कुनै पनि निर्णय नगर्ने प्रधानमन्त्रीले स्पष्ट पारे। ‘सात सालको क्रान्तिपछि राणा- कांग्रेस मन्त्रिमण्डलमा मतभेद बढेपछि बीपी कोइरालाले आवेगमा आएर गृहमन्त्रीबाट राजीनामा दिनुभयो। त्यसो नगरेको भए देशमा पहिले नै प्रजातन्त्र संस्थागत भइसक्ने थियो,' उनले भने, ‘बीपीले राजीनामा दिएपछि अस्थिर अवस्था आयो, त्यही बेला राजाले टंकप्रसाद आचार्य, केआइ सिंहलगायतलाई प्रधानमन्त्री बनाएर दलहरूमा खेल्ने मौका पाए।'
प्रधानमन्त्री भएपछि राजनीति साँच्चीकै फोहोरी खेल रहेछ भन्ने आफूले महसुस गरेको उनले बताए। ‘त्यही फोहोरलाई सफा गरेर आफू फोहोर नभइकन निस्किन सकूँ भन्ने प्रयत्नमा छु, सफल हुन्छु कि हुन्न भन्ने चिन्ता छ,' उनले भने।
कांग्रेसद्वारा बहिष्कार
प्रधानमन्त्री सहभागी भएको भन्दै कांग्रेसका शीर्ष नेताहरूले संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जन्मोत्सव समारोह बहिष्कार गरे। सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले ललितपुर बाँडेगाउँस्थित भट्टराई आश्रममा गरेको कार्यक्रममा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायत उच्च पदाधिकारी कार्यक्रममा सहभागी भएनन् ।
काठमाडौंको थलीमा जारी क्षेत्रीय सभापतिको भेलामा छुट्टै कार्यक्रम गरी नेपाली कांग्रेसले किशुनजीको जन्मोत्सव मनाएको थियो। कांग्रेस उपसभापति पौडेलले प्रधानमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने नीतिअनुसार भट्टराई आश्रमले गरेको कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए। कोषाध्यक्ष चित्रलेखा यादव, पूर्णबहादुर खड्का, दीपकुमार उपाध्याप, प्रकाशशरण महत, बालकृष्ण खाँड, बलबहादुर केसीलगायत नेता भने कार्यक्रममा सहभागी थिए।
प्रधानमन्त्री भट्टराई नै प्रमुख अतिथि रहेको गत वर्षको कार्यक्रममा कोइराला, देउवा र पौडेलसहित अधिकांश केन्द्रीय नेता सहभागी भएका थिए। त्यसबेला एमालेलगायत विपक्षी गठबन्धनका नेतासमेत सहभागी थिए।
पत्रकार तथा सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका सचिव युवराज घिमिरेले राजनीतिक समीकरण बन्ने र बिग्रने गर्छ र त्यसैलाई आधार मानेर कार्यक्रम बहिष्कार गर्दा असहिष्णु प्रवृत्तिले प्रश्रय पाउने बताए। ‘हामीले सबै दलका नेताहरूलाई आमन्त्रण गरेका थियौं,' घिमिरेले भने, ‘यो आश्रम उहाँ (किशुनजी)को चरित्र र चिन्तनलाई प्रतिबिम्बित गर्ने ठाउँ हो। उहाँको दर्शनमा कसैप्रति बहिष्कार र घृणा थिएन। आफ्ना गल्ती प्रायश्चित गर्न पनि नेताहरू आउनुपथ्र्यो।'
हुलाक टिकट र पुस्तक सार्वजनिक
कार्यक्रमका प्रमुख वक्ता श्रीलंकाली गान्धीवादी नेता एटी अरियारत्नेले सबैलाई समेटेर अघि बढ्ने सिद्धान्त अभावले विकास हुन नसकेको बताए। ‘विकासका लागि प्रधानमन्त्री वा नेताले मात्र नभएर सबैले योगदान दिनुपर्छ,' उनले भने, ‘मार्गनिर्देशक सिद्धान्त नहुँदा विकास हुन नसकेको हो।'
रामोन म्यागासेसे तथा गान्धी शान्ति पुरस्कार विजेता अरियारत्नेले हिंसात्मक बाटोले कहिले पनि समस्या समाधान हुन नसक्ने बताए। उनले भने, ‘अध्यात्ममा आधारित भएर अहिंसात्मक बाटोबाट हुने परिवर्तनले मात्र शान्ति र विकास आउनसक्छ।' ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किशुनजी सरल, सहज र दृढ निश्चियी नेता भएको बताए। ‘उहाँ (किशुनजी) ले कहिल्यै गुनासो गर्नु भएन। उहाँ हाँसेर जिउनुभयो, हाँसेरै मर्नुभयो,' अरुणले भने, ‘ जस्तोसुकै कठिन अवस्थामा पनि उहाँ आफ्नो मूल्यमान्यता र आदर्शबाट ढगमगाउनुभएन।' पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट, पूर्वसभामुखहरू दमननाथ ढुंगाना, तारानाथ रानाभाट, कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादव, प्रतिष्ठानका अध्यक्ष पीएल सिंहलगायतले सम्बोधन गरे।
कार्यक्रममा हुलाक सेवा विभागले प्रकाशन किशुनजीको १० रुपैयाँ मूल्यको टिकटमा प्रधानमन्त्रीले प्रकाशनको प्रथम टाँचा लगाए। विशेष अतिथि अरियारत्नेले किशुनजीको देहावसानपछि विभिन्न पत्रपत्रिकामा उहाँको बारे प्रकाशित लेखहरूको संकलन ‘किशुनजी' नामक किताब सार्वजनिक गरे।