Sunday, 23 December 2012
नेपाल वायुसेवा निगमलाई इन्धन दिन नमानेपछि - सात घन्टा ढिलो
काठमाडौं, पुस ८ मलेसियाको पेट्रोनास कम्पनीले हवाई इन्धन भरे बापतको रकम समयमा नतिरेको भन्दै नेपाल वायुसेवा निगमलाई इन्धन दिन नमानेपछि शुक्रबार नेपाल आउनुपर्ने जहाज सात घन्टा ढिलो गरी आएको छ । स्रोतका अनुसार निगमले रकम भुक्तानीका विषयमा जिम्मेवारी लिएकालाई कुनै सोधपुछ नगरी छाडेको छ ।यसरी रकम नतिर्दा जहाजमा तेल नै नदिनु हाम्रो लागि लाजमर्दो कुरा हो,स्रोतले भन्यो । कम्पनीले पूरै रकम भुक्तान नगर्दासम्म इन्धन नदिने बताएपछि निगमले रकम तिरेर उडान गर्दा बिहान १० बजे आउनुपर्ने जहाज बेलुका साढे ५ बजे मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
निगम व्यवस्थापनले भने पेट्रोनास कम्पनीमै आन्तरिक सूचना आदान(प्रदान प्रभावकारी नभएकाले यस्तो समस्या आएको बताएको छ ।हामीले बुधबार नै चार लाख डलर पठाइसकेका थियौ,निगमका महाप्रबन्धक मदन खरेलले भने,उताकै आन्तरिक समस्या हो । हाम्रो कारणले ढिलो भएको होइन ।निगमको जहाजमा त्यस दिन १ सय ३० यात्रु थिए । इन्धनको रकम नतिरेको भन्दै कम्पनीले उडानमा अवरोध सृजना गरेको यो पहिलो घटना हो । खरेलका अनुसार आगामी दिनमा यस्ता घटना नदोहोरिऊन् भनेर कम्पनीसँग कुरा गरी सकिएको छ । इन्धनको भुक्तान रकममा निगमको गल्ती नभएको दाबी गरे पनि बिहीबार निगमका लोडरले दोहा उड्ने यात्रुको सामान मलेसिया उडान भर्ने जहाजमा राखिदिँदा यात्रुहरू समस्यामा परे । त्यस्तै लोडरले मलेसिया जाने यात्रुको सामान दोहा उड्ने जहाजमा राखिदिए । उडान गरेर गन्तव्यमा पुगेपछि मात्र सामान साटिएको थाहा भएको थियो ।एक ठाउँ पुग्नुपर्ने सामान अर्को ठाउँमा पुगेपछि फेरि त्यसलाई काठमाडौं फर्काएर पुनः सही स्थानमा पठाइएको थियो,स्रोतले भन्यो । यसरी सामान पठाउँदा यात्रुले आफू पुगेको अर्को दिन मात्र सामान पाए ।एकचोटिमा हुने काम दोहोर्याउँदा समय र लागत दुवै बढ्यो,निगमका एक उच्च अधिकारीले भने,केही समय समस्या नदेखिएको निगममा फेरि कर्मचारीको लापरबाही देखिन थालेको छ ।यस्ता समस्याले निगमप्रतिको यात्रु विश्वास गुम्ने डर छ । त्यसै पनि अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीको आगमनले निगमले यात्रु गुमाइरहेको छ । मुख्य गरी नेपाली कामदार जाने गन्तव्य मलेसिया, दोहा लगायत स्थानमा बजेट एयरलाइन्सले राम्रो सुविधाका साथ निगमकै हाराहारीको भाडादरमा सेवा दिइरहेको स्थिति छ । जहाजको कमी हुनु र सेवा पनि चुस्त नहुँदा अहिले निगमको अन्तर्राष्ट्रिय बजारमा ३ प्रतिशतभन्दा पनि कम हिस्सा छ ।