Monday, 31 December 2012

‘कोमल ओली कहिल्यै पोइल नजाने, बाबुराम कहिल्यै राजीनामा नदिने’

प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कलाकार जितु नेपालले मंगलबार गोरखामा व्यंग्य गरे। आठौं गोरखा महोत्सवको सिलसिलामा प्रहसन देखाउँदै जितुले प्रधानमन्त्रीलाई गायिका कोमल वलीसँग दाँजे। ‘कोमलले पोइला जान पाम भनेको पाँच वर्ष भयो, तर अहिलेसम्म उनको बिहे भएको छैन,’ उनले थपे, ‘यता बाबुरामले पनि सहमति भए राजीनामा दिन्छु भनेको धेरै भयो, तर कहिल्यै राजीनामा दिने होइन।’
दलका नेताहरुलाई जनताले पिट्ने गरेको घटनालाई समेत उनले प्रहसनमा उतारे। ‘पहिला पहिला नेताको नाममा ताली पड्काउने जनताले अब नेताकै गाला चड्काउन थालेका छन्,’ उनले नेताहरुलाई सचेत हुन आग्रह गरे, ‘आफैले गरेको गल्तीको सजाय आफू नै भोगौं, आफ्नो गाला आफै जोगाउँ।’ नेपाली नेताहरुले जनतालाई रुवाउने काम गरेकाले जनताले नेताहरुको चश्मा फुटाउने अभियान सुरु गरेको जितुले बताए। ‘नेताले जनता रुवाउने काम मात्र गरेका छन् त्यसैले अहिलेसम्म नेताको गालामा मात्र चड्कन परेको हो,’ उनले भने, ‘हामीले मान्छे हँसाउने प्रयास गरिरहेका छौं, त्यही भएर कलाकारको गालामा चड्कन पर्दैनन्।’

You Might Also Like This

 

Pages