चितवन, पुस ५ - ध्रुवे नामले चर्चित जंगली हात्तीले आक्रमण गर्दा शनिबार मध्यरातमा ज्यान गएका माडी गर्दी गाविस वडा नं. ९ द्रोपतीनगरका बुद्धिराम बोटे र उनकी श्रीमती जरिया बोटेको अन्तिम संस्कार आज हुने भएको छ। बिहीबार बिहान जिल्लाका राजनैतिक दलका प्रमुख र स्थानीय संघर्ष समितिका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
मृतकका परिवारले तत्कालै एकजना मृतक बराबर तीन लाख रुपैयाँ राहत पाउने भएका छन्। संघर्ष समितिले एकजना बराबर १० लाख रुपैयाँ दिनुपर्ने माग गरेको थियो। बैठकमा थप सात लाख रुपैयाँका लागि मन्त्रालयमा वार्ता गर्न जाने सहमति भएको छ।
हात्ती मार्नु पर्छ भन्ने हाम्रो अडान थियो। टोली परिचालित भएकाले हात्ती मर्ने विश्वास जागेको छ। राहत रकमका बारेमा पनि एक प्रकारको सहमति भएकाले हामीले आज लाशको दाहसंस्कार गर्ने निर्णय गरेका छौं' संघर्षमा सहभागी नेपाल बोटे समाजका अध्यक्ष जेना बोटेले जानकारी दिए।
यसबारे हिजो बुधबार नै जिल्लाका पार्टी प्रमुख र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतबीच भएको वार्ताले सहमति गरेर लाश उठाउने निर्णय गरेका थिए। तर स्थानीय संघर्ष समितिले त्यसलाई अस्वीकार गरेर आज बिहान आफै वार्तामा सहभागी भएको हो।