Saturday, 29 December 2012

सुनगाभाका समलिंगी हेर्न हलबाहिर भिड

धरान,पुस १४ - साँझको ६ बज्नै लागिसकेको थियो। भानु चोकस्थित गणेश टाँकिजमा अरुबेला दर्शकहरु फिल्म हलभित्र पस्न हत्तारिएका हुन्थे। शुक्रबारको साँझमा भने दर्शकहरु हल परिसरमै ब्यग्रतापूर्वक कसैको पर्खाइमा देखिन्थे। लगत्तै एउटा कार हल परिसरमा रोकियो। तीन जना सुन्दरीहरु कारको दुवैतर्फको ढोकाबाट ओर्लिइन्। ब्यग्रतापूर्वक पखाईमा रहेका दर्शकहरु त्यतैतिर तानिए। उनीहरु दर्शकको घेरामा परिहाले। तीन सुन्दरी अरु कोही नभएर नेपाली चलचित्र क्षेत्रकी सुन्दरी नायिका निशा अधिकारी, दिया मास्के र पूर्व मिस नेपाल माल्भिका सुब्बा थिइन्। दुई युवतीको प्रेमकथामा आधारित चलचित्र सुनगाभाको च्यारिटी शोको लागि यी नायिकाहरु धरान आएका हुन्। च्यारिटी शोको लागि धरान आएकी यी नायिकाहरु पनि सिधै फिल्म हलभित्र पस्न पाएनन्। उनीहरुको स्वागतको लागि 'रेड कार्पेट' बिछ्याइएको थियो। कारबाट ओलिएपछि दुवै नायिकाहरु त्यही रेड कार्पेटबाट पाइला अघि बढाउदै फोटो सेसनको लागि पोज दिनथाले। हलिउड र बलिउडमा मात्रै रेड कार्पेटमा नायकनायिकाहरुलाई हिडाउने चलन छ। 'उहाँहरुले च्यारिटी शोको लागि धरानलाई छनौट गर्नुभएको हो, त्यसैले सम्मान गर्नुपर्छ भनेर रेड कार्पेटमा हिडाउने योजना बनायौं'-च्यारिटी शोका स्थानीय आयोजक विमल राईले भने।
काठमाण्डौंका दुई युवती(लेस्बियन)बीचको प्रेमकथामा आधारित चलचित्र भएकोले पनि सुनगाभा प्रर्दशनआउनु पूर्व नै चर्चामा छ। यसको देशभर प्रर्दशन पुष २० गतेदेखि मात्रै हुनेछ। चलचित्र युनिटले पूर्व मिस नेपाल माल्भिका सुब्बाको आग्रहमा धरानको महिला शक्ति विकास समुहको सहयोगार्थ च्यारिटी शो आयोजना गरेको हो। च्यारिटी शोअघि सम्पुर्ण खर्च कटाएर बचेको रकम (१० हजार) चलचित्रका निर्देशक सुवर्ण थापाले महिला शक्ति विकास समुहकी अध्यक्ष गीता श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। चलचित्रमा पुरुष स्वभावको लेस्बियन युवतीको भुमिकामा रहेकी निशा अधिकारीले परिवारभित्रैका सदस्यमा दुर्व्यसन, समलिंगी वा एचआइभी एड्स जस्तो समस्या नभएसम्म मानिसले वेवास्ता गरिरहने बताए। 'समाजमा यस्ता जटिल किसिममा समस्याहरु छन्, तर हामी आफ्नै परिवारभित्रै यो समस्या देखा नपरेसम्म कुरा गर्नै चाहदैनौं, सधै वेवास्ता गरिरहन्छौं'-उनले भनिन्। अर्की, नायिका दिया मास्केले विदेशबाट ल्याएको कथा नभई सुनगाभा नेपाली समाजभित्रकै कथा भएको जिकिर गरिन्। लेखन तथा निर्देशक गरेका सुवर्ण थापा र वितरक प्रज्वल राणाले नेपाली समाजकै तर सबैले वेवास्ता गरिरहेको कथाबस्तुमा राम्रो चलचित्र बनेको धारणा राखे। ८५ मिनेट लामो चलचित्रले विभिन्न अर्न्तराष्टिय चलचित्र महोत्सवहरुमा भाग लिइसकेको छ र अवार्ड पनि जितेको छ। चलचित्रमा निशा, दियाबाहेक सौगात मल्ल, बसुन्धरा भुषाल, लक्ष्मी गिरीलगायतको अभिनय रहेको छ।

You Might Also Like This

 

Pages