Monday, 17 December 2012
काठमाण्डौंका मापदण्ड विपरीतका घर पनि भत्काइने
२ पुस,काठमाण्डौंमा एकतिहाइभन्दा बढी घर मापदण्ड विपरीत बनेका छन् । यस्ता घर भत्काउन सरकारले अन्तिम तयारी गरिरहेको छ ।
सरकारले सहरी विकास महाशाखा र काठमाण्डौं महानगरपालिकाको सहयोगमा मापदण्ड विपरीत बनेका घरहरु पहिचान गरी अन्तिम सूची बनाइरहेको छ । सरकारका तर्फबाट पटक-पटक आग्रह गरिँदासमेत भवन निर्माण आचारसंहिता विपरीत घर बेका र बन्ने क्रम जारी रहेकाले सरकार कडाइका साथ प्रस्तुत हुने भएको सौर्य दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयका अनुसार सुरुमा घरधनीलाई नै निश्चित समय दिएर मापदण्डविपरीत रहेका घरलाई वैध बनाउन भनिनेछ । त्यो समयभित्र पनि काम नभए घरधनीबाटै खर्च तिराउनेगरी सरकारले भत्काउने छ ।
सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले मापदण्ड विपरीत बनाइएका घर भत्काउने तयारी भइरहेको बताए । ‘मापदण्डविपरीत बनाइएका घरहरुको अन्तिम सूची बनाउने काम भइरहेको छ । सुरुमा घरधनीहरुलाई निश्चित समय दिएर आफै भत्काउन भन्छौं, नमाने सरकारले भत्काउँछ,’ प्रवक्ता आचार्यले भने ।
सरकारी तथ्यांक अनुसार नक्सा पास नभएका र मापदण्ड मिचेर बनाइएका घर काठमाण्डौंमा एकतिहाइभन्दा बढी छन् । धेरैको घरको छत तथा बार्दली भत्काउनुपर्ने हुन्छ ।