
नक्कली विद्यार्थीका विषयमा छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा छापा मारेको छ ।त्रिचन्द्र कलेजबाट ४४ जना नक्कली विद्यार्थीले स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिइरहेको थाहा पाएपछि केन्द्रले पनिकामा छापा मारेको हो । परीक्षा सुरु हुुनुभन्दा तीन दिनअघि मात्र ४४ विद्यार्थी छुटेको भन्दै कलेजका तर्फबाट प्रवेशपत्रका लागि पनिकामा सिफारिस पुगेको थियो । विद्यार्थी छुटेको भन्दै कलेजका एक कर्मचारी सिफारिस लिएर पनिका पुगेको केन्द्रको अनुसन्धानबाट खुलेको छ । पनिकाले कलेजकै लेटरप्याडमा सिफारिस लिएर आएपछि प्रवेशपत्र बनाइदिएको थियो । स्ववियुका केही पदाधिकारी र विद्यार्थी नेतासँगको मिलेमतोमा नक्कली लेटरप्याड बनाई प्रवेशपत्रका लागि सिफारिस लिएर ती कर्मचारी पनिका पुगेका थिए ।त्रिचन्द्र क्याम्पस प्रशासनले भने क्याम्पसबाट पछि सिफारिसका लागि कुनै पत्र नगएको जनाएको छ । ‘हामीले प्रवेशपत्र बनाउन कुनै सिफारिस गरेका छैनौँ,’ क्याम्पसका एक कर्मचारीले भने, ‘ती विद्यार्थी हाम्रा पनि होइनन् ।’ क्याम्पस प्रशासनले नक्कली लेटरप्याड र स्टयाम्प प्रयोग गरी प्रवेशपत्र सिफारिस गरेको दाबी गरेको छ ।ती विद्यार्थी मंसिर १३ गतेदेखि सञ्चालन भएको समाजशास्त्र र ग्रामीण विकास विषयको परीक्षामा सामेल भएका छन् । परीक्षा दिनेमा पुराना विद्यार्थी छन् । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस केन्द्रमा उनीहरूलाई चिट चोर्न सजिलो होस् भनेर एकै कोठामा राखिएको छ ।निमित्त परीक्षा नियन्त्रक रमेश जोशीले नक्कली विद्यार्थीका विषयमा केन्द्रले छानबिन गरिरहेको बताए । ‘विद्यार्थीका बारेमा हामीले पनि छानबिन गरिरहेका छौँ,’ निमित्त परीक्षा नियन्त्रक जोशीले भने, ‘दोषी ठहरिए कर्मचारीलाई कारबाही गर्नेछौँ ।’मंगलबार छापा मार्दा केन्द्रले एक लाख बाउन्स भएको चेकसमेत भेटाएको थियो । केन्द्रको टोलीले परीक्षा शुल्कबारे छानबिन गर्दा उक्त बाउन्स चेक बरामद गरेको हो । त्यस्तै, छानबिनका क्रममा काठमाडौंको जेभियर इन्टरनेसनल कलेजले परीक्षा नियन्त्रण कार्यालयको नाममा जारी गरेका दुई थान चेकसमेत भेटिएका छन् । असोजको पहिलो साता बुझाइएका दुईवटा चेकको रकम ८५ हजार रुपियाँ छ ।