Sunday, 23 December 2012
कोर्ट म्यारिज' गर्नेहरु बढे:-
काठमाडौं,पुस ८-दोलखाका रमेश धिताल (२६) र पाल्पाकी सदीक्षा आलेमगर (२४) केही साथीभाइसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भेटिए। आफ्नो सम्बन्धलाई प्रमाणिकता दिन आएको उनीहरूले बताए। कोर्ट म्यारिज गर्न दुलहा-दुलहीसहित ६-७ जना।
जागिर र पढाइका सिलसिलामा करिब पाँच वर्षअघि राजधानी छिरेका उनीहरूले पोहोरै बिहे गरेका हुन् तर औपचारिकता दिन पाएका थिएनन्। रमेशको घरबाट गाउँकै, आफ्नै जातकी, लगनशील, पढे-लेखेकी केटी खाजेको छु' भन्दै बरोबर दबाब आइरहेको थियो। तर उनले आफैंले रोजेकी युवतीसँग बिहे गरे। सुरुमा घरपरिवारले अस्वीकार गरे पनि पछि उनीहरूको सम्बन्धलाई स्वीकार गर्यो। ५-६ महिनापछि घरबाट परम्पराअनुसार बिहे गर्न भन्दै बोलावट आइरह्यो।
कामको व्यस्तता र पढाइले गर्दा बाबाआमाले तय गरेको साइतमा बिहे गर्न गाउँ जान भ्याइएन, एक सहकारी संस्थाका लेखापाल रमेश बिहेको प्रशासन कार्यालयबाट बिवाह दर्ताको प्रमाणपत्र बुझेपछि भने, 'पछि घरमा सोधेर नै कोर्ट म्यारिज गरेका हौं।' यसो गर्दा खर्च र समयको बचत तथा झन्झट पनि बेहोर्नु नपरेको उनले बताए।
कोर्ट म्यारिजको दरखास्त दिन र प्रमाणपत्र लिन प्रशासन कार्यालयमा आउनेहरूको संख्या बढिरहेको छ। यसै मेसोमा भेटिएका नुवाकोटका अच्युत सापकोटा र म्याग्दीकी सीता दर्नालको जोडी पनि खर्च, समय र सहजै स्विकार्न नसक्ने गाउँसमाजकै कारण कोर्ट म्यारिज रोजेको बताउँदै थिए।
सुरु सुरुमा असहमति भए पनि पछि घरपरिवारकै सल्लाहअनुसार कोर्ट म्यारिजको प्रक्रिया बुझ्न आएका उनीहरू दरखास्त दिएरै फर्केका थिए। मेरो घरमा अहिलेसम्म कसैले पनि फरक जातबाट बिहे नगरेकाले पनि सजिलै पचाउन टाइम लाग्यो, अच्युत भन्छन्, पछि भने दुवै जनाको घरबाट प्रशासनमै बिहे गर्न भनेकाले यहाँ आएको।
उनीहरूको बिहे दुई वर्षअघि नै भएको हो। तर समाजले अन्तरजातीय बिहेलाई सजिलै पचाउन नसकेकाले औपचारिकता दिन ढिला भएको उनी बताउँछन्। पहिला त घरमै आउन नदिने भन्दै थिए। तर विस्तारै सहज भयो। घरमा धुमधामले बिहे गर्न मन पनि थिएन। सोचेजस्तै गरी बिहे गर्न पाइयो, उनले नागरिकसँग भने, गाउँमा अझै पनि कुरा काट्न रोकिएको छैन् रे। समाजलाई नपचाउन गाह्रो भए पनि बिनाअवरोध हामीलाई स्विकार्ने कानुन रहेछ। समाजले सहजै स्वीकार नगरेपनि कानुनले बाधाअवरोध/रोकटोक बिनै बिहे गराइदिएकोमा उनी खुसी देखिन्थे।
कानुनी बिहेको प्रमाणपत्र लिन प्रशासन कार्यालय आइपुगेका काठमाडौंका पवन थापा (२७) र झापाकी दुर्गादेवी खनाल (२५) बेग्लै कारण बताउँदै थिए। उनीहरूले गएको मंसिरमा लगन छोपेर घरबाटै परम्परागत ढंगले बिहे गरेका हुन्। विदेश जान बिहेको कागजात बुझाउनु पर्ने भएकाले कोर्ट म्यारिजको प्रमाणपत्र लिन आएको उनीहरूले बताए।
सांस्कृतिक परम्परा अनुसार बिहे गर्नेको संख्या घट्दो छ। कोर्ट म्यारिज गर्नेहरू बढेका छन्। झन्झटिलो, खर्चिलो र बढी समय लाग्ने भएकाले कोर्ट म्यारिज तर्फ पछिल्लो पुस्ता आकर्षित भएका छन्। यसका लागि दरखास्त दिन, प्रमाणपत्र लिन र प्रवि्र्कयाबारे बुझ्न आउनेको संख्या अघिल्ला वर्षमा भन्दा दोब्बर भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोर्ट म्यारिजको प्रमाणपत्र बुझेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयअगाडि काठमाडौंका पवन थापा र झापाकी दुर्गादेवी खनाल। साथमा साक्षी बसेका साथीहरू।