Wednesday, 9 January 2013

यसरी जान सकिन्छ अफगानिस्तान

। यतिबेला अफगानिस्तानमा कार्यरत नेपाली श्रमिकहरु वैध हुन् कि अवैध भन्ने बहस चलिरहेको छ । नेपालको बैदेशिक रोजगार बिभागबाट अनुमति नलिई पर्यटक भिसामा दुबईसम्म पुगेर अफगानिस्तान जाने नेपाली नेपालीहरुको संख्या धेरै छ, जोसँग न त अफगानिस्तानको भिसा हुन्छ न त अफगानिस्तान प्रवेश गरेको कुनै प्रमाण नै । यस्ता नेपालीहरु त्रिभुवन बिमानस्थलबाट आवत जावत गर्न सक्दैनन्, त्यसैले उनीहरुले गैरकानुनी बाटो समात्नै पर्छ । अहिले अफगानिस्तानमा करिव १८ हजार नेपाली कामदार रहेको बताइन्छ । नेटो सैनिकका क्याम्पमा काम गर्ने यस्ता नेपाली कामदारमध्ये अधिकांशसँग अफगानिस्तानको भिसा हुँदैन, केवल क्याम्पको परिचयपत्र मात्र हुन्छ । उनीहरुलाई नेपाल आउन जान दिने कि नदिने र कसरी बैधानिक बनाउने भन्ने बिषयमा अहिले नेपालको उच्च सरकारी तहमा छलफल चलिरहेको छ । धेरैले अफगानिस्तान काम गर्न नेपाल सरकारले पुरै बन्देज लगाएको रुपमा बुझे पनि वास्तविकता त्यस्तो छैन । अहिले पनि हजारौं नेपालीहरु बैदेशिक रोजगार बिभागबाट इजाजत लिएरै अफगानिस्तानका लागि उडिरहेका छन् । किनकि अफगानिस्तान काम गर्न नेपाल सरकारले पुरै प्रतिबन्ध लगाएको छैन । आखिर कस्ता नेपालीहरुले त्यसरी भिसा पाएर वैधानिकरुपमा काम गरिरहेका छन् त ?
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार अहिले पनि पाँच किसिमका कामका लागि अफगानिस्तान काम गर्न जान अनुमति दिइन्छ । पहिलो, त्यहाँस्थित बिदेशी दूतावासको सुरक्षाका लागि खटिने नेपाली सुरक्षा गार्डहरु । सामान्यतयाः बेलायती गोर्खा सैनिक र नेपाली सेनामा काम गरेका पूर्व सैनिकले यस्ता काममा अवसर पाउने गरेका छन् । उनीहरुले पाउने तलव, बिदा, सुरक्षा लगायत उल्लेख गरिएको सम्झौता पत्र हेरेर उनीहरुलाई त्यहाँ काम गर्ने अनुमति दिइन्छ । दोस्रो, बिभिन्न परियोजनामा काम गर्न जाने इन्जिनियर र ओभरसियरहरु । अफगानिस्तानस्थित गैरसरकारी संस्थाहरुले चलाएका परियोजनामा काम गर्ने गरि धेरै नेपाली इन्जिनियरहरु त्यहाँ काम गर्न गएका छन् । बिभागले तोकेका सवै मापदण्ड पुरा भएको अबस्थामा यस्ता इन्जिनियरहरुले पनि अफगानिस्तान काम गर्न जान अनुमति पाइरहेका छन् । तेस्रो, अफगानिस्तान सरकारका बिभिन्न कार्यालय र परियोजनाहरुमा बिज्ञ र सल्लाहकारका रुपमा काम गर्ने गरी केही पूर्व सरकारी कर्मचारी र केही बहालवाला कर्मचारी पनि अफगानिस्तान गएका छन् । उनीहरुलाई पनि बिभागका अनुमति लिन र नेपाली बिमास्थलाट स-सम्मान अफगानिस्तान पुग्न कुनै समस्या छैन । र, चौथो त्यहाँ रहेका बिभिन्न कम्पनीहरुले नेपाली कामदार चाहियो भन्दै बेलायतस्थित दूतावास वा पाकिस्तानस्थित दूतावासमा प्रमाणित गराएर आएका मागमा पनि नेपालीलाई काम गर्ने अनुमति दिइएको छ । महानिर्देशक भट्टराईले भन्नुभयो- ‘हाम्रा नेपाली कामदार सुरक्षित हुनुपर्‍यो, तलव पाउनुपर्‍यो, बैधानिक हिसावले अफगास्तिानको भिसा भएको हुनुपर्‍यो र अफगानिस्तान प्रवेश भएको र बाहिरिएको रेकर्ड हुनुपर्‍यो ।’ यी कुराहरु ग्यारेन्टी भए अहिले पनि नेपाली कामदारलाई अफगानिस्तान काम गर्न जान कुनै समस्या नरहेको बताउनुभयो । यसरी बिभागबाटै अनुमति लिएका करिव ६ हजार नेपाली अफगानिस्तानमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

You Might Also Like This

 

Pages