Monday, 14 January 2013
माघे सक्रान्ति मेला शुरु -रिडी
धार्मिक रुपमा चिनिने चर्चित रुरु क्षेत्रमा सोमबारदेखि माघे सक्रान्ति मेला शुरु भएको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सगंमस्थल रिडीमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुको विहानै देखि भीड लागेको छ ।
नेपालका चार धाम मध्यको रुरु क्षेत्रको कालीगण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
बराह पुराणका अनुसार भगवान इन्द्रले रिडीमा तपस्या गरेका ऋषिको तपस्या भंग गर्न पठाएकी अप्सराले जन्माएकी छोरीलाई रुरु मृगले दुध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो । उनै वालिकाले पनि तपस्या गरेकाले यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको किम्बदन्ती छ । मेलामा स्थानीय उत्पादनका साथै रुकुम, रोल्पा, डोल्पाबाट ल्याएका काम्लो, राडी, पाखी र बाँसबाट उत्पादित डाला, सुपा, पाथी, काइयो लगायतका घरेलु समान बिक्रीका लागि राखिन्छ ।
राष्ट्रपति आउने भएपछि सुरक्षा कडा
मेलामा यसवर्ष राष्ट्रपति डा. रामवरण यादवले भ्रमण गर्ने भएपछि सुरक्षा व्यवस्था र मेलाको तयारी तीव्र पारिएको हो । राष्ट्रपतिको सुरक्षाका लागि विशेष तालिम प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली रिडीमा परिचालन गरिएको छ ।
राष्ट्रपति डा. यादव हेलिकप्टरमार्फत दिउँसो साढे १२ वजे रिडी आइपुग्ने र कालीगण्डकी स्नान, ऋषिकेश मन्दिरको दर्शन र रुरु क्षेत्रको महत्वका वारेमा जानकारी लिने कार्यक्रम छ । यसबर्ष मेलामा गुल्मीको रुद्रबेणीदेखि रिडीसम्म कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन गरिने आयोजकले जनाएको छ । पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि कालिगण्डकी नदीमा स्नान गर्नेहरुको भीड लागेको छ ।