Sunday, 6 January 2013
पत्रकार थापालाई जिउँदै गाडेको अभियुक्तको बयान
दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई तत्कालिन माओवादीका कार्यकर्ताले जिउँदै गाडेर मारेको अभियुक्तहरुले बयान दिएका छन्। शनिबार पक्राउ परेका एक अभियुक्त लक्षीराम घर्तीले सरकारी वकिल र प्रहरीसमक्ष जिउँदै गाडेको बयान दिएका हुन्।
बयानमा घर्तीले भनेका छन्-’पत्रकार थापालाई गाड्नु अघि साथीहरु जयबहादुर साही र हरिलाल पुनले नाडी छाम्दा मरे भनेपछि गाडेका हौं। चलमलाएको थिएन तर, मरेकै हो भनेर भन्न सक्दिन।’ खानेपानीसम्बन्धी वार्तामा बोलाइएका डेकेन्द्रलाई २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ गते हत्या गरेका थिए। पक्राउ परेका अभियुक्तले हाँसीहाँसी बयान दिएको र हत्यामा आफ्नो संलग्नता भएको स्विकारेको प्रहरीले जनाएको छ।
अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले पक्राउ परेकालाई थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको जनाए। २०६५ साल भदौमा थापाका श्रीमतीले उजुरी दिएपनि झण्डै ४ वर्षपछि शनिबार प्रहरीले दैलेखको द्वारी गाविसका लछीराम घर्ती, रानीवन गाविसका जयबहादुर शाही, बालुवाटारका वीरबहादुर केसी, निरक घर्तिमगर र हरिबहादुर पुन मगरलाई पक्रेको हो।।