Saturday, 19 January 2013
कंगाल प्रधानमन्त्री र धनाढ्य प्रधानमन्त्री पत्नी
माओवादीद्वारा गठित छानबिन समितिले शीर्ष नेताले गैरकानुनी सम्पत्ति नकमाएको भन्दै क्लिन चिट दिएलगत्तै कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईले पुस अन्तिम साता आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सम्पत्ति विवरण कि प्रधानमन्त्री भएपछि लगत्तै गरिन्थ्यो, कि प्रधानमन्त्रीको कुर्सी छाडेपछि। तर, महाधिवेशनको पूर्वसन्ध्यामा माओवादी उपाध्यक्ष बाबुरामले सम्पत्ति विवरण सार्वजनिक गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले आफ्नो सम्पत्ति गोर्खामा दुई रोपनी जग्गा र दुई तोला सुन भएको बताएका छन्। माओवादीभित्रै हिसिला सबैभन्दा धनी नेता र नेपालकै सबैभन्दा धनाढ्य महिला भएको चर्चा चलिरहँदा बाबुरामद्वारा सार्वजनिक सम्पत्ति विवरणलाई कसैले पत्याएका छैनन। महाधिवेशनमा प्रतिनिधि किनेर भए पनि आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य चयन गर्ने योजनासाथ हिसिलाले गत वर्षदेखि चन्दा अभियानलाई तीव्रता दिएकी थिइन्।
परिआए अर्को कम्युनिस्ट पार्टीको गठन गर्नुपर्ने भन्दै बालुवाटारका केही हस्ति द्रव्य संकलनमा मरिमेटेर लागेका छन्। प्रचण्डपक्षीय माओवादी कार्यकर्ताको बुझाइमा अहिलेकै सत्तारुढ गठबन्धनका धेरै दललाई एकै ठाउँ बनाएर नयाँ पार्टी बनाउने खेल दक्षिणतिरबाट भएको छ। प्रहरी हवल्दारसँग उठाएको १० हजार रुपैयाँदेखि त्रिशुली विद्युत आयोजनाको क्षमता बढाउँदा हिसिलाले उठाएको १० करोड रुपैया कहाँ पुगेछ भनेर माओवादी कार्यकर्ता नै प्रश्न गर्न थालेका छन्। शहरमा आजकाल यस्तो ठट्टा सुनिन थालेको छ, संसारकै कंगाल प्रधानमन्त्री र धनाढ्य प्रधानमन्त्री पत्नी।
हिसिलाको चाकरीमा व्यस्त सहसचिव
देशको एकमात्र महानगरपालिका काठमाडौं महानगरपालिका १४ वर्षयता स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेपछि सवैभन्दा ठूलो भ्रष्टाचारको अखडा बनेको हो। यहाँको वार्षिक बजेट र कार्यक्रम अरू मन्त्रालयको भन्दा धेरै हुन्छ। स्थानीय निकाय नै नरहेको बेला भगवान् भरोसामा चलेको महानगरपालिकामा भएको सचिवको दरबन्दी पनि मन्त्री र उनका आसेपासेलाई चलखेल गर्ने बाटो नमिलेपछि त्यसलाई हटाएर सहसचिवले हाँक्दै आएका छन्। अर्थ मन्त्रालयमा रहँदा स्वच्छ छवि बनाएका भनिने केदारबहादुर अधिकारीले अहिले महानगरमा मेयर र कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। उनी तत्कालीन अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालको सिफारिसमा महानगरपालिका आएका हुन्। तर, महानगरपालिका आएपछि उनको स्वच्छ छवि धमिलिइसक्यो भन्छन्, सरकारका उच्च प्रशासकहरू। सचिव हुने लाइनमा रहेका उनी मुख्य सचिव लिलामणि पौडेल र प्रधानमन्त्री बाबुराम भट्टराईको अतिप्रिय मानिन्छन्। उनी अहिले सचिव बन्न प्रधानमन्त्री पत्नी तथा माओवादी नेत्री हिसिला यमीको चाकरीमा व्यस्त छन्। त्यसका लागि महानगरपालिका अन्तर्गतका ठेक्कापट्टा र विकास निर्माणका काम यमीले भनेका मान्छेलाई नै मिलाइदिन्छन्। यमीलाई उनले गरेको चाकरी मन नपरेर यसअघि परराष्ट्र तथा स्थानीय विकास मन्त्री नारायणकाजी श्रेष्ठले महानगरपालिकामा छापा हानेर आर्थिक अनियमितता सच्याउन निर्देशन दिएका थिए।
महानगरपालिका स्रोतका अनुसार यमी र अधिकारीको पछिल्लो चलखेल हो- पुरानो बसपार्कमा रहेको काठमाडौं टावर बनाउने ठेक्का । अघिल्लोपल्टभन्दा सस्तो मूल्यमा दिएर छ करोड आम्दानी गरी चार करोड यमी र दुई करोड अधिकारीले लिन लागिपरेको चर्चा महानगरपालिकाभित्र छ। स्वच्छ छवि भएका अधिकारी पनि खाने ठाउँ पाएपछि बिग्रिए। जुन जोगी आए पनि कानै चिरेका!
धर्मसंकटमा पत्रकार नेता
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नमाथि अनुसन्धान प्रक्रिया जारी रहँदा एकजना पत्रकार नेता धर्मसंकटमा परेका छन्। माओवादी कोटामा पत्रकार महासंघको महासचिव निर्वाचित ओम शर्मालाई डेकेन्द्र छानबिन प्रक्रिया 'नखाऊँ भने दिनभरिको शिकार, खाऊँभने कान्छा बाउको अनुहार' जस्तै भएको छ। एकातिर पत्रकार महासंघको महासचिव पद जोगाउनुपर्ने र अर्कोतिर पार्टीकै सदस्यता जोगाउनुपर्ने बाध्यताले गर्दा शर्मा चेपुवामा परेका छन्। पार्टी डेकेन्द्र हत्याको छानबिन रोक्नुपर्ने अडानमा रहँदा ओम शर्मालाई अनुसन्धान प्रभावित नगर भन्ने विज्ञप्तिमा हस्ताक्षर गर्नुपरेको छ। मंगलवार पार्टीको भातृ संगठन क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको विरोध र्यालीमा शर्माले आफू चेपुवामा परेको गुनासो गरेका थिए।
तीन वर्ष पत्रकार महासंघको उपाध्यक्ष भएर अहिले लाभको पदमा बसिरहेका क्रान्तिकारी पत्रकारका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघ कसैको उक्साहटमा लागेको भन्दै आफ्नो संगठन महासंघबाट अलग्गिनेसम्मको चेतावनी दिएका छन्। पत्रकार थापाको हत्याको विषयलाई लिएर क्रान्तिकारी पत्रकार संघ र पे्रस युनियनका सदस्यहरूबीच फेसबुकमा जुहारी चल्ने गरेको छ।
गल्तीशिरोमणि 'गौरव'
नेकपा-माओवादीको महाधिवेशन उद्घाटन कार्यक्रममा रमाइलो गर्नका लागि ल्याइएका कलाकारलाई बिर्साइदिए, उपाध्यक्ष सिपी गजुरेल 'गौरव'ले। बढो तामझामपूर्ण प्रचार गरिएको उद्घाटन कार्यक्रम उद्घोषण गरिरहेका गजुरेलले गरेका गल्तीले कलाकारका रमाइला प्रस्तुतिलाई फिका बनाइदिए। यतिसम्म कि विगतमा आफूहरूसँग अलग भएको चित्रबहादुर केसीको पार्टीको नाम समेत गल्ती बोलाए। कहिले मसाल, कहिले जनमोर्चा नेपाल भनेर आफ्नो सही परिचय नदिएपछि केसीले मञ्चबाट भनिदिए, 'हाम्रो पार्टीको नामसमेत नचिन्नेले के क्रान्ति गर्नुहुन्छ खोइ?' क्रान्तिका लागि रातो रगत उमाल्न खुलामञ्चमा भेला भएका क्रान्तिकारीलाई जोमसोमलाई बिर्साउने त्यस दिनको हावाले 'कुल' बनाइदिएको थियो, प्रज्ञा भवनको हलमा नपुग्दै। हतियार उठाउने निर्णय गर्न भन्दै राजधानी आएका क्रान्तिकारीहरू खुलामञ्चको हावाले काँपिरहेका थिए।
बाहिरको कार्यक्रम फितलो भए पनि महाधिवेशन हलभित्रभने कार्यकर्तालाई राम्रै व्यवस्था भएको रहेछ। बीस वर्षे तन्नेरीदेखि सय वर्षका जन्मेजय जैसीसम्मका महाधिवेशन प्रतिनिधिलाई खान/बस्नका लागि राम्रै बन्दोबस्त थियो। बिहान शाकाहारी खाना र साँझ कुखुराको मासुसहितको खानाको व्यवस्था गरिएको थियो। चिसोका कारण कतिपय कार्यकर्ता दिउँसै सोमरस खाएर बन्द सत्रमा पुगेका थिए। गोप्यता भंग हुने भन्दै महाधिवेशन स्थलमा मोबाइल फोन प्रतिबन्धित थियो। तत्काल जनयुद्ध शुरु गर्नुपर्ने अभियानका नाइके नेत्रविक्रम चन्द्र विप्लव भने बन्द सत्रमा खासै 'खुलेनन्'।
क्याम्प चेन्ज गर्दै डा'साप
कुनै समय माओवादीका अन्धसमर्थक भनेर चिनिएका नागरिक समाजका अगुवा दाबी गर्ने डा. सुन्दरमणि दीक्षितले यतिबेला क्याम्प चेन्ज गर्ने सुरसार गरेको चर्चा शुरु भएको छ। शक्तिखोर भिडियो टेप प्रकरणमा माओवादीविरुद्ध नाकाबन्दी शुरु हँुदा पनि माओवादीको गुणगान गाउने दीक्षितले अहिले क्याम्प परिवर्तन गर्न लागेको व्यापक चर्चा छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति आक्रामक देखिने उनले ड्यास माओवादीको कार्यक्रमलाई सम्बोधन गर्दै मोहन वैद्यलाई समर्थन गर्ने संकेत दिएका थिए। बाबुरामप्रति दीक्षित कति रुष्ट रहेछन् भन्ने कुरा नेपाल पे्रस युनियनले सरकारविरुद्ध आयोजना गरेको कार्यक्रममा छताछुल्ल भयो। डा. दीक्षितले भट्टराइलाई प्रधानमन्त्रीको सम्बोधन पनि गरेनन्। भने, 'जनसरकार प्रमुख लालध्वज।' देशको शिर निहुर्याएको भन्दै डा'सापले लालध्वज मुर्दावादको नारा समेत लगाउन पछि परेनन्। दीक्षितमा आएको त्यो परिवर्तन देखेर उपस्थित अरू भने जिल्ल थिए।
काजीलाई 'बोलीपासो'
पछिल्ला दिनमा मिडियालाई मसला दिन खप्पिस माओवादी उपाध्यक्ष र तीनटा मन्त्रालयका मन्त्री नारायणकाजी श्रेष्ठको पछिल्लो भनाइ विवादमा तानिएको छ। पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणमा काजीले दिएका अभिव्यक्ति 'क्यास माओवादी'भित्र भुसको आगोझँै सल्किएको छ। बाराको सिमरामा आयोजित कार्यक्रममा काजीले पत्रकारका हत्यारालाई कारबाही गर्नुपर्ने बताएका थिए। सोझो अर्थमा काजीको भनाइलाई सबैले प्रशंसा नै गर्ने भए। तर, महाधिवेशनको पूर्वसन्ध्यामा आएको काजीवाणीले अहिले माओवादभित्र कोकोहोलो मच्चिएको छ। बांगो-बांगो कुरा गर्न खप्पिस माओवादीलाई काजीको भनाइ एसिडझँै भएको छ। जनयुद्धका सबैलाई कारबाही गरे पार्टीको नेतृत्व आफूमा आउने आशमा काजीले त्यस्तो बोलेको भनेर माओवादी कार्यकर्ता आगो भएका छन्। जनयुद्ध लडेका एकजना माओवादी कार्यकर्ताले उनलाई यस्तो एसएमएस पठाए रे- 'पत्रकारका हत्यारालाई कारबाही गर्नुपर्छ कि पर्दैन, २० दिनपछि हेटौँडामा छिनोफानो गरौंला, टिके कामरेड!' काजीको भनाइलाई माओवादीले गलत समयमा आएको अभिव्यक्ति भनेका छन्।