Wednesday, 16 January 2013
छाउपडी कुप्रथाले लियो ज्यान
Khabar Bhitrako Khabar 16 Jan 2013 रिडिकोट-३ कि १५ वर्षीया शर्मिला भूलको महिनावारी हुँदा गोठमा बसेको अवस्थामा ०६९ पुस ३ गते राति ज्यान गएपछि छाउपडी कुप्रथाको विरुद्धमा उत्रेका रिडिकोटका महिलाले ०६९ पुस १७ गते वडा नम्बर १, २ र ३ लाई छाउपडी कुप्रथा मुक्त वडा घोषणा गरेका छन् । एक कार्यक्रमकाबीच नेपाली काँग्रेस अछामका उपसभापति जयन्द्रबहादुर स्वारले तीन ओटै वडालाई छाउपडी कुप्रथा मुक्त वडा घोषणा गरे । गोठमा ज्यान गुमाएकी किशोरी शर्मिलाको फोटोमा माल्यार्पण गरी घोषणा कार्यक्रम सुरु भएको थियो । शर्मिलाको गोठमा मृत्यु भएपछि गाउँमा रहेका छाउपडी गोठ भत्काउने अभियान थालेका महिलाहरूले तीन ओटै वडामा रहेका सबै गोठहरू भत्काएका थिए । यस लगत्तै बाँकी वडामा पनि गोठ भत्काउने अभियानको सञ्चालन गर्ने छाउपडी कुप्रथा बिरुद्धको अभियानको नेतृत्व गर्ने पारालिगल समितिकी अध्यक्ष सीता स्वारले जानकारी दिइन् । शर्मिला भुलको गोठमै मृत्यु भएपछि अछाममा छाउपडी कुप्रथा विरुद्धमा स्थानीयहरू आफै जागेका छन् ।