Tuesday, 22 January 2013
आन्दोलनमा राजेशको साथ, सरकारले टेक्ला त घुँडा ?
निरन्तर चलिरहेको चलचित्रकर्मीहरुको आन्दोलनको सुनुवाई अझैसम्म पनि भएको छैन । विभिन्न किसिमको ९ बुँदे मागलाई अघि सारेर आन्दोलनरत चलचित्रकर्मीहरुको भीडमा नाम चलेको कलाकारको उपस्थिती नभएको गुनासो पनि आएकै हो ।
नायक राजेश हमालदेखि नायिका रेखा थाप लगायत अन्य कलाकारहरु पनि आन्दोलनमा थिएनन् । तर राजेश हमाल भने आन्दोलनलाई साथ दिन सोमबार चलचित्र बिकास बोर्डको परिसरमा पुगेका थिए । राजेशको उपस्थितीले चलचित्रकर्मीलाई निकै हौसला मिलेको थियो ।
आफू बिदेशमा भएकाले चलचित्रकर्मीको आन्दोलनलाई साथ दिन नपाएको हमाले सञ्चारकर्मीसँग बताए । चलचित्रकर्मीको आन्दोलनमा आफू कोठामा लुकेर बस्ने कुरै नभएको पनि उनको भनाई थियो । सञ्चारकर्मीको प्रश्नमा हमालले घुमाउरो पारामा बोर्डको अध्यक्ष आफूलाई प्रस्ताव गरे आफु तयार रहेको पनि बताए ।
राजनीतिक रुपमा पनि बेग्लै छवि बनाएका हमालको साथले सरकार घुँडा टेक्ने प्रवल सम्भावना रहेको बताइएको छ । चलचित्रकर्मीहरुको आज प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।