Friday, 4 January 2013

ठन्डीमा कोठा तताउँदा होसियार!

काठमाडौ, पुस २० - पुसको ठन्डी भगाउन के के गर्दै हुनुहुन्छ? कोठा तताउन कोइला (ब्रिकेट) बाल्ने एवं हिटर, ग्यास, गिजर चलाइरहनुभएको छ भने सावधान! हावाको आवागमन पूरै बन्द छ/छैन, ख्याल गरौं। धुवाँले निसास्सिएर ज्यानै जान सक्छ। नवजात शिशु र सुत्केरी पत्नीलाई न्यानो बनाउन कोठामा बालेको ब्रिकेट (कोइलायुक्त इन्धन) को धुवाँले निस्सासिएर ललितपुर बगलामुखीमा एक युवकको मृत्यु भएको छ भने उनकी सुत्केरी पत्नी कोमा अवस्थामा उपचाररत छिन्। कोठा तातो बनाएर परिवारसँग सुतेका २० वर्षीय अर्पण राईको सोमबार राति कोठामै मृत्यु भएको हो। प्रहरीका अनुसार तीन साताकी सुत्केरी १९ वर्षीया भद्रकुमारीको पाटन अस्पतालमा सघन उपचार भइरहेको छ। नवजात शिशु उपचारपछि आफन्तको रेखदेखमा छन्। धनकुटा खोक-३ घर भई पाटन बगलामुखीमा डेरा बस्दै आएका उनीहरुले बिहान अबेरसम्म ढोका नखोलेपछि प्रहरीको रोहवरमा ढोका तोडिएको थियो। 'कोठाभित्र तीनैजना सुतेकै अवस्थामा थिए,' मृतक अर्पणका दाजु आकाशले भने, 'भाइको मृत्यु भइसकेको रहेछ, भाउजू र बच्चा बेहोस थिए।' भेन्टिलेटरमा राखेर उपचार थालेको चार दिनपछि बिहीबारमात्र भद्रकुमारीको होस खुलेको छ। अहिले उनी आफै सास फेर्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ। मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरुको आर्थिक अवस्था नाजुक छ। भेन्टिलेटर लगाएको खर्च पनि जुटाउन नसक्ने अवस्था रहेको आकाशले सुनाए।
ग्यास गिजर र गुइँठा बाल्दा होस गरौं:- जाडो महिनामा कोठा तताउन प्रयोग हुने आगोजन्य सामग्रीका कारण दुर्घटना हुन सक्ने जनाउँदै चिकित्सकले होसियारी अपनाउन सल्लाह दिएका छन्। दाउरा, कोइला, मट्टीतेल, ग्यास गिजर र गुइँठालगायत सामग्री प्रयोग गर्दा कोठा पूरै बन्द राख्न नहुने पाटन अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले बताए। 'यी सामाग्री जल्दा निस्कने कार्बन मोनोअक्साइड ग्यास विषालु हुन्छ,' उनले भने, 'त्यसैले कोठा पूरै बन्द गरेर यस्ता वस्तुको प्रयोग गर्नुहुँदैन।' थोरै होसियारी अपनाए ठूलो दुर्घटना टर्ने उनले जनाए। 'ग्यास गिजर चलाउँदा बाथरुमको भेन्टिलेसन अनिवार्य खुला राख्नुपर्छ,' उनले भने, 'नत्र नुहाउँदानुहाउँदै निसास्सिने सम्भावना रहन्छ।' गाउँघरतिर गुइँठा बाल्दा पनि कोठामा हावा छिर्ने ठाउँ राख्नुपर्ने उनले बताए। बाथरुममा निसास्सिएर बिरामी भएका अस्पताल आउने गरेको उनले सुनाए। यस्ता चिज प्रयोग गर्दा निस्कने कार्बन-मोनोअक्साइड ग्यास श्वास-प्रश्वासका माध्यमबाट रगतमा मिसिएर ब्रेनमा पुग्ने र त्यसले बेहोस बनाउने उनले सुनाए। 'त्यसपछि मान्छे मृत्युको मुखमा समेत पुग्छ,' उनले भने, 'त्यसैले यस्ता कुरामा होसियारी अपनाउनुपर्छ।' उनले केही गरी घटना भइहाले बिरामीलाई तुरुन्तै खुला ठाउँमा ल्याउने र जतिसक्दो चाँडो अक्सिजन दिनुपर्ने सुझाए।

You Might Also Like This

 

Pages