Wednesday, 23 January 2013
यसरी लुटियो मन्त्रालयबाट १५ लाख
सोमबार दिउँसो एमाओवादी नेता टोपबहादुर रायमाझी नेतृत्वको शान्ति मन्त्रालयले बहिर्गमित लडाकूसँग वार्ताका लागि खर्च भन्दै १५ लाख रुपैयाँको चेक काट्यो । कथित वार्ताका लागि काटिएको सो भारी रकमको चेक शान्तिमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री वर्षमान पुनको संलग्नता एवं स्वीकृति नभई नक्कली लडाकूलाई थमाउन सम्भव थिएन ।
बहिर्गमित लडाकूसँग वार्ताका लागि भन्दै त्यति ठूलो रकम निकासा गरिनु आफैंमा भ्रष्टाचार त थियो नै, तर त्यसमाथि पनि अर्को घीनलाग्दो भ्रष्टाचारको खेल खेलियो ।
लडाकूसँग वार्ता गर्ने नाममा काटिएको चेक पेरिसडाँडामा वालबच्चासहित आन्दोलन गरिरहेका पीडितले पाएको भए थोरै चित्त बुझाउने ठाउँ रहन्थ्यो होला, तर मन्त्रीले आफैं खडा गरेर हुर्काएका नक्कली लडाकू लेनिन विष्ट र मणिहर्ष राईलगायतलाई उक्त रकम उपलब्ध गराइयो । रकम लिने बेलामा बहिर्गमित लडाकूका नेता सागर लिम्बुलाई मन्त्रालयलमा बोलाइएन । स्रोतको दाबी छ, मन्त्रालयले निकासा गरेको १५ लाख रुपैयाँ जानीजानी नक्कली लडाकू खडा गरेर उनीहरुलाई दिइएको हो ।
शान्ति मन्त्री टोपबहादुर रायमाझीका नजिकका पूर्वराजावादी लेनिन विष्ट र १५ लाख रकम माग्दै मन्त्रालयमा निवेदन दिने मणिहर्ष राई (गौरब) दुबै नक्कली लडाकू हुन् । आन्दोलनरत् बहिर्गमित लडाकूका संयोजक सागर लिम्बू भन्छन्, ‘लेनिन विष्ट पूर्वराजावादी हुन्, शान्तिमन्त्री पनि कस्ता हुन् सबैलाई थाहै छ, विष्ट सधैं सिंचाइमन्त्री यादवका ज्वाइँसँग झण्डावाल गाडीमा हिँड्थे । सोमबार पनि उनी त्यही मनत्रीको गाडीमा भागेका हुन् । शान्तिमन्त्रीको सल्लाहमा उनीहरुले पैसा निकालेपछि मन्त्रीका पिए दिनेशसँग भागवन्डा नमिल्दा विष्ट पैसा लिएर लुकेका हुन् ।’
आन्दोलन गर्ने एउटा, पैसा खाने अरु
लिम्बूको नेतृत्वमा बहिर्गमित लडाकूहरुले पेरिसडाँडामा आन्दोलन गरिरहेका बेला शान्तिमन्त्री टोपबहादुरका पीए दिनेश र सिंचाइमन्त्री मनोज अधिकारीसमेत मिलेर लेनिन विष्टले मन्त्रालयबाट सोमबार १५ लाख रुपैयाँ फुत्काएका हुन् । बहिर्गमित लडाकूसँग वार्ताका लागि व्यवस्थापन खर्च शीर्षकमा शान्ति मन्त्री टोपबहादुरको सिफारिस र अर्थमन्त्री वर्षमान पुनको सहमतिमा सो रकम झिकिएको हो ।
बहिर्गमित लडाकूको आन्दोलनमा घुसपैठ गरेका विष्टको नाम लडाकूहरुको सूचीमा कतै देखिँदैन । मन्त्री रायमाझीको सल्लाह अनुसार १५ लाख निकासाका लागि निवेदन दिने मणिहर्ष राईको नाम पनि लडाकूको सूचिमा छैन ।
मन्त्रीको संलग्नतामा नक्कली लडाकूका नाममा १५ लाख निकासा गरिएपछि मन्त्रीका पीए दिनेशले पेरिसडाँडामा आन्दोलनकारीलाई दिएको १ लाख ६८ हजार रुपैयाँ मागेका थिए । तर, त्यो रकम एमाओवादी पार्टीले दिएको भन्दै लेनिनसहितको ४/५ जनाको टोलीले दिन नमानेपछि लेनिन र दिनेशवीच चर्को भनाभन भएको थियो । पछि १५ लाखमध्ये विघटन भैसकेको ७ डिभिजनका नाममा एक/एक लाख छुट्याई बाँकी रहेको ८ लाख लेनिनले लिएर हिँडेपछि शान्ति मन्त्री र उनका पीए दिनेश रिसाएको स्रोत बताउँछ ।
सरकारले अगोग्य लडाकूका नाममा प्रतिव्यक्ति १ लाखरुपैयाँ बाँड्ने निर्णय गरे पनि सर्वोच्च अदालतले हात त्यसमाथि रोक लगाएको छ । मन्त्रालयले लडाकूलाई पैसा दिन रोक लगाएपछि शान्ति मन्त्रीले दलालहरु मार्फत् ‘वार्ता खर्च’का रुपमा १५ लाखरुपैयाँ निकासा गराएका हुन् ।
रायमाझीका दलाल खेद्ने, यादवका दलाल बचाउने
सो रकम बोकेका विष्ट र उनको टोलीलाई शान्ति मन्त्रीका पीए दिनेशबाट भगाएर रेस्क्यु गर्ने जिम्मा अर्का सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवका ज्वाइँ मनोज अधिकारीले लिए । अधिकारीले उनीहरुलाई मन्त्रीको झण्डावाल गाडीमा हालेर भगाए । सोमबार राति प्रहरीले मन्त्री यादवको गाडी खोजेर फेला पार्यो भने सरकारी रकमले जाँड खाएर भिल्लु भएको अवस्थामा मन्त्रीका ज्वाइँ अधिकारी पक्राउ परे ।
यिनलाई कारवाही कसले गर्ला ?
शान्ति मन्त्री रायमाझीले यसैगरी वार्ताका नाममा रकम निकालेर दुरुपयोग गर्ने गरेको स्रोत बताउँछ । तर, अख्तियार पनि नभएका बेला राज्यकोषबाट यसरी अबैधानिक तरिकाले रकम निकालेर ‘भागशान्ति जयनेपाल’ गर्ने मन्त्रीहरु, तिनका पीए र पैसा लिएर नक्कली कमान्डरलाई झन्डावाल गाडीमा भगाउने मन्त्रीका ज्वाइँलाई अब कसले कारवाही गर्ला ? आन्दोलनकारी लडाकूका नाममा नियोजितरुपमा नक्कली कमाण्डर खडा गरेर रकम निकासा गरी भ्रष्टाचार गर्ने शान्ति मन्त्रीलाई प्रधानमन्त्रीले कारवाही गर्लान् त ? हेर्न बाँकी छ । स्रोतका अनुसार पैसा लिएर भागेका विष्टलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।