Sunday, 20 January 2013

शान्ति सम्झौताका कागज च्यात्ने पुष्पकमल दाहालको चेतावनी

पोखरा, माघ ६ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताबमोजिम दलहरु अघि नबढ्ने हो भने त्यसअन्तर्गत भएका सम्झौताका कागज च्यातिने चेतावनी दिएका छन् ।एमाओवादी कास्कीको पाँचौँ सम्मेलनको शनिबार उद्‌घाटन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई असफल पार्न चाहने जाली फटाहा र सामन्ती शोषकले देशलाई बर्बादीतिर लान खोजेको आरोप लगाए ।उनले जनता र पार्टी एकताले मात्र ठूला परिवर्तनको सम्भव हुने धारणा राख्दै यही एकताले नै देशमा ठूला ठूला पविर्तन र क्रान्ति नयाँ ढङ्गले अघि बढ्ने विचार व्यक्त गरे । दाहालले भने, ‘हेटौंडामा हुने पार्टीको महाधिवेशनले परिवर्तनलाई संस्थागत व्यवस्थापन गर्र्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने रणनीति तय गर्ने छ ।’फुटेर गएको नेकपा–माओवादीप्रति इङ्गित गर्दै उनले पार्टी विभाजनले प्रतिक्रियावादी र फटाहालाई हँसाएको बताए । एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालका विषयलाई एक एक गरी टपक्क टिपेर विस्तृत शान्ति सम्झौता भाँड्ने काम भइरहेको बताए ।द्वन्द्वकालमा मान्छे मारिएका र बेपत्ता बनाइएका घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री भट्टराईले कसैले जघन्य अपराध र मानवताविरुद्ध अक्षम्य अपराध गरेको रहेछ भने नियमकानुनअनुसार दण्डित गर्नुपर्ने धारणा राखे ।’केही व्यक्तिले केही मुद्दा षडयन्त्रमूलक ढङ्गले उचालेर केहीलाई विदेशमा गिरफ्तार गर्न लगाउने र केहीलाई देशभित्रै बढाइचढाई कारबाही गर्नखोजेका छन्,’ उनले भने, ‘सरकारले कहिल्यै दोषीलाई कारबाही गर्नहुन्न भनेको छैन ।’पार्टीका अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले तीन चार दिनभित्र राष्ट्रिय सहमति भयो भने मात्रै आगामी जेठ १५ गतेभित्र नयाँ संविधानसभाको निर्वाचन गर्न सम्भव भएको बताए ।

You Might Also Like This

 

Pages