Friday, 18 January 2013
टियर ग्यासमा प्रयोग हुने खुर्सानी अब भान्सामा
टियर ग्यासमा प्रयोग हुने खुर्सानी अब भान्सामा
कस्तो होला संसारकै पिरो खुर्सानी ? तपाईंलाई थाहा छ, यो एउटा खुर्सानी पाँचवटा राँगाको मासुमा मोल्दासमेत खपिनसक्नुको पिरो हुन्छ रे’ नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा काम गर्ने एकजना मजदूरले खुर्सानीको बोट देखाउँदै भने । ललितपुर खुमलटारस्थित नार्कको हाताभित्र फलिरहेको यो खुर्सानी अहिलेसम्म कसैले चाख्न त पाएका छैनन् । तर, बोटमा रातै भएर फलेको देख्ने सबैले यसैगरी खुर्सानी निकै पिरो होला भन्ने अनुमान गर्छन् ।
तीन वर्षअघि भारतको आसामबाट बीउ ल्याएर लगाइएको खुर्सानी अहिले रातै भएर फलेको छ । सबैले अनुमान गरेजस्तै खुर्सानी यतिधेरै पिरो होला त ? यही खुर्सानीको रेखदेख गर्दै आएका केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्र खुमलटारका प्रमुख भरतकुमार पौडेलले भन्नुभयो-’पाँचवटा राँगाको मासुलाई पुग्ला त म भन्न सक्दिन, तर भारतीय सेनाले यो खुर्सानीलाई टियर ग्याँसको रुपमा प्रयोग गर्थे रे ।’
खुमलटारमा ३० बोट
संसारकै सबैभन्दा पिरो ‘भूत जोलोकिया’को व्यवसायिक खेती नेपालमा समेत गर्ने गरी तरकारी विज्ञहरुले लागिपरेका छन् । अहिले खुमलटारस्थित नार्कको हातामा खुर्सानी फलिरहेको छ । ‘नेपालमा अहिले कहीँ पनि यो जातको खुर्सानी छैन’ केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रका प्रमुख पौडेलले भन्नुभयो-’अहिले हामीले बीउ उत्पादनको लागि यहाँ खेती गरिरहेका छौं ।’
अहिले बोटमा खुर्सानी लहलह फलिरहेको छ । केही दिनमै रातै भएर पाकेका खुर्सानी टिपेर बेर्ना तयार पार्ने तयारी छ । ‘फागुनको दोस्रो हप्ता बेर्ना तयार पारेर परीक्षणको रुपमा किसानलाई वितरण गर्ने तयारी छ’ पौडेलले भन्नुभयो । यो जातको खुर्सानी मध्य पहाड र तराईका जुनसुकै ठाउँमा पनि खेती गर्न सकिन्छ ।
संसारकै सबैभन्दा पिरो खुर्सानीको रुपमा दर्ता भएको भोट जलोकियालाई हाइबि्रड गरेर भारत र बंगलादेशका बिभिन्न देशमा समेत खेती गरिँदै आइएको छ । विज्ञहरुका अनुसार यो खुर्सानी अरु जातका खुर्सानीभन्दा ४ सय १ दशमलव ५ पटकभन्दा बढी पिरो हुन्छ ।