Tuesday, 8 January 2013

पत्रकार थापाका ‘हत्यारा’ पक्रेकोमा प्रधानमन्त्री आक्रोशित

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोग माओवादी कार्यकर्ता पक्राउ गरेकोमा असन्तुष्टि जनाउनुभएको छ । मानवअधिकारवादीहरुको उक्साहटमा पक्राउ गरिएको भन्दै उहाँले त्यसमा सरकारको समर्थन नरहेको बताउनुभएको छ । ‘नेपालभित्रै द्वन्द्वकालका घटनालाई लिएर कथित मानवअधिकारवादी भन्ने मानिसहरु उक्साएर फेरि गिरफ्तारीका श्रृखला अघि बढाउने र झुठा मुद्दा लगाएर वातावरणलाई विथोल्ने प्रयत्न भइरहेको छ, खासगरी दैलेखमा जुन प्रकारको घटना घटेको छ’ राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको सम्मान र सम्झना पुस्तक सार्वजनिक गर्दै भट्टराईले भन्नुभयो-’यसमा नेपाल सरकारको कुनै साइनो र समर्थन छैन ।’ एमाओवादीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालका घटनाहरुलाई लिएर फेरि मुद्दा मामिला लगाएर शान्ति प्रक्रिया भाँड्ने प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन आयोग गठन गर्न अध्यादेश पठाए पनि राष्ट्रपतिले स्वीकृत नगर्दा आफूले काम गर्न नसकेको उहाँको भनाइ छ । आफू सरकारमा रहे पनि सत्ता नभएको भन्दै उहाँले सोचेअनुसार काम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो-’हामी सत्तामा छैनौं । सत्ता भनेको समग्र रुप हो, सरकार त्यसको सानो हाँगो मात्र हो ।’
पत्रकार थापाको हत्याको आरोपमा प्रहरीले ५ माओवादी कार्यकर्ता पक्राउ गरेको छ । उनीहरुले चरम यातना दिँदा पनि थापाको मृत्यु नभएपछि जिउँदै गाडेको बयान दिएका छन् । पत्रकार थापालाई माओवादी कार्यकर्ताले ०६१ असार १२ नियन्त्रणमा लिई साउन २७ मा हत्या गरेका थिए । हत्याको ४ वर्षपछि थापाको कंकाल भेटिएको थियो ।

You Might Also Like This

 

Pages