Sunday, 6 January 2013
अग्नि सापकोटा र निरञ्जन बस्नेतलाई तत्काल जेल हाल्नुपर्छ -कानूनविद्
बेलायतमा नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ परेपछि अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिन अब नेपाल सरकारले तत्कालै एमाओवादी प्रवक्ता अग्नि सापकोटा, पूर्वसभासद् बालकृष्ण ढुंगेल र नेपाली सेनाका मेजर निरञ्जन बस्नेतलाई तत्काल पक्राउ गर्नुपर्ने कानूनविद्ले बताएका छन् ।
लामाको गिरफ्तारीमा कानूनी सहयोग गर्ने संस्था एड्भोकेसी फोरमले आएतबार बार एशोसिएसनको सभाकक्षमा गरेको पत्रकार भेटघाट कार्यक्रममा कानुनविद् गोबिन्द बन्दीले भन्नुभयो-’नेपाल सरकारले लामालाई तुरुन्त रिहा गर भनेर हुँदैन । बेलायत सरकारले आमालाई पक्रेको हैन, नेपालीकै उजुरीका आधारमा पक्रेको हो । अब नेपालले आफ्नो देशमा दण्डहीनता छैन भनेर अन्तरराष्ट्रि समुदायलाई विश्वासमा लिने हो भने एमाओवादीका अग्नी सापकोटा र बालकृष्ण ढुंगेललाई तत्कालै पक्रेर जेल हाल्नुपर्छ । नेपाली सेनाका निरञ्जन बस्नेतलाई भद्रकालीबाट निकालेर काभ्र पठाई जेलमा थुन्नुपर्छ । विश्वका १ सय २५ देशले विश्वव्यापी क्षेत्राधिकारलाई मान्यता दिएको र ३३ वटा देशले प्रयोग गरिरहेको बन्दीले बताउनुभयो । यो क्षेत्राधिकार प्रयोग गर्ने देशमा नेपालमा कोही पनि लामाजसरी समातिन सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा एड्भोकेसी फोरमकी प्रमुख मन्दिरा शर्माले यातनासम्बन्धी कानून निर्माण गरेर लामालाई आफैं कारबाही गर्छौं भन्ने विश्वास नेपालले बेलायतलाई नदिएसम्म लामा सजिलै नछुट्ने ठोकुवा गर्नुभयो । नेपालले आफ्नो देशभित्रै दोषीलाई कारवाही गरेको भए यस्तो घटना नहुने भन्दै अब दण्डहीनता अन्त्य गर्नेबारे नेपाली आफैंले सोच्नुपर्ने बताउनुभयो ।
मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले लामालाई गिरफ्तार गर्ने अन्तराष्ट्रिय क्षेत्राधिकार बेलायतसँग भएको दाबी गर्नुभयो । ‘अन्तरराष्ट्रिय अपराधले अन्तरराष्ट्रिय क्षेत्राधिकार राख्छ । बेलायतमा यो घटना नभएको भए डेकेन्द्र थापाका हत्यारा नेपालमा पक्राउ पर्ने थिएनन् ।’-प्याकुरेलले भन्नुभयो, ‘अदालतले विभागीय कारवाहीको सिफारिस गर्दा पनि लामामाथि कारवाही भएन । पीडितलाई ७५ हजार क्षतिपूर्ति भराउने भनेको अहिलेसम्म दिइएन । तपाईहरु नै भन्नोस् यस्तो अवस्थामा हामीले के गर्नुपर्छ ।’