Wednesday, 9 January 2013
प्रधानमन्त्रीविरुद्ध हजारौंको जुलुस
माओवादी धम्कीका कारण प्रहरी सुरक्षामा पत्रकार- पुस २५- पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान थालेको दैलेख प्रहरीलाई प्रधानमन्त्रीले आफ्ना निकायमार्फत् अनुसन्धान नगर्न दिएको दवाबको विरोधमा दैलेखका हजारौं स्थानीयले सदरमुकाममा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा कांग्रेस, एमाले लगायत दलहरु, नागरिक समाज, विद्यार्थी, व्यापारीहरुको ठूलो संख्यामा प्रहरीले बयानका लागि अभियूक्तलाई सरकारी वकिल कार्यालयमा तत्काल लग्नुपर्ने भन्दै दवाब दिइरहेका छन्। जिल्ला प्रहरी कार्यालय अगाडि तत्काल बयान गरिनु पर्ने माग सहित कोणसभामा प्रधानमन्त्री बावुराम भटराईविरुद्ध नाराबाजी गरिरहेका छन्
स्थानीयले २ घण्टा यातायात बन्द गरेका छन्। आज अदालतले अनुसन्धानका लागि दिएको ५ दिनको म्याद सकिदैछ। नेकपा-माओवादी, एकिकृत नेकपा माओवादी र प्रदर्शनमा उत्रेका स्थानियविच झडप हुनसक्ने भन्दै सदरमुकाममा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ। दैलेख प्रहरी प्रमुख डिएसपी शारदाप्रसाद चौधरीले दवाबले कुनै असर नगर्ने र आजै बयान सकेर अदालतमा म्याद थप गरिने नागरिकन्युजलाई जानकारी दिए।
अभियुक्तलाई छाड्न दुवै माओवादीसम्बद्ध नेताहरुले चर्को रुपमा दवाब दिँदै आएका छन्। प्रहरीले पक्राउ गरेका कार्यकतालाई नछोडे जे पनि परिणाम आउन सक्छ भन्दै स्थानीय माओवादी नेताहरुले पत्रकार धम्क्याउँदै आएका छन्। सञ्चारकर्मीलाई दुवै माओवादीले जे पनि हुनसक्ने धम्की दिएपछि उनीहरु प्रहरी सुरक्षामा बसिरहेका छन्। समाचार संकलन गर्नका लागि दैलेखका पत्रकारहरु २१ गतेदेखि गाँउ जान सकिरहेका छैनन्।यसैबीच बुधबार दिउँसो प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले एक प्रेसनोट प्रकाशित गर्दै प्रधानमन्त्री भट्टराई दोषीलाई कारवाही गर्नुपर्छ भन्नेमा दृढ रहेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध आन्दोलित स्थानीय। तस्विरः गोविन्द केसी।