२०५७ सालमा चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाले नम्बर एक नायिकाको रुपमा पछिल्लो एक दशक नेपाली चलचित्र क्षेत्रमा राज गरिन् । र, उनको यात्रा व्यवसायिक रुपमा निकै सफल पनि रह्यो । सिनेमा सम्बन्धि अधिकांश अवार्ड समारोहमा उत्कृष्ट नायिकाको उपाधिमा पनि रेखाकै वर्चस्व रह्यो ।
चलचित्रमा गरेको अभिनयबाट मात्र नभएर विभिन्न क्षेत्रका व्यक्तित्वसँगको व्यक्तिगत सम्बन्धका कारण पनि
म मेहनत र लगनशीलतामा विश्वास गर्ने मान्छे हो । मैले चलचित्र क्षेत्रलाई ब्यवसायिक रुपमा अँगाल्छु भन्ने दृढ संकल्प लिएँ । र, निकै मेहनत गरेँ । १३ वर्षमध्ये ३ वर्षसम्म म कमिङ स्टारको रुपमा नै रहेँ । त्यसपछि मैले गरेका हरेक चलचित्र सफल भए । कारण हो, मेरो मेहनत । मैले दिनरात नभनी काम गरेँ । कुनै बेला दिनमा एउटा चाउचाउ मात्रै खाएर पनि सुटिङ गरे ।
सफल र अनुभवी निर्माता छवि ओझासँग बिहे भएकै कारण तपाइँ यति छिटै सफल हुनुभएको भन्छन् नी ?
एउटा प्रतिभाशाली मानिसका लागि कसैको बुई चढ्नु जरुरी हुँदैन । उहाँसँग बिहे भएपनि मैले मेहनत नगरेको भए म यो ठाउँमा हुने थिइन । छविजीको मार्गदर्शन मलाई त अहिलेसम्म मिलिरहेको छ । त्यतिबेला त म सानै थिएँ, उहाँको मार्गदर्शन नमिलेको भए मेरो यात्रा सहज हुने थिएन ।
छविजी तपाइँको बुबासँग तपाइँको हात माग्न जानुभएको थियो रे नि ?
हो । बुबा त छक्क पर्नुभएको थियो । बुबा र छविजी को उमेर ८/ ९ वर्षको मात्र फरक थियो । बुबाले फिल्म लाइनमा नै जाने हो ? भनेर सोध्नुभयो । मलाई फिल्मी क्षेत्रमा बुबाको सपोर्ट थियो तर मम्मीको सपोर्ट थिएन । उहाँसँगको विहे भयो भने सजिलो हुन्छ भन्ने कन्जरभेटिभ सोचाइ चाँही थियो । तर म उहाँसँगको विवाहलाई लेखान्त भन्न रुचाउँछु ।
छविसँग आधिकारिक बिहे भएको होइन, सँगै बसेको मात्र हो पनि भन्नुभयो । कुरा के हो ?
नेपालमा धेरै नायिकाहरु लिभइन रिलेशनसिपमा बसेका छन् । धेरैले यसलाई बिहे भन्दैनन् । मैले बिहे भनेँ । हाम्रो बिहे झ्याईँ झ्याईँ बाजा बजाएर भएको पनि होइन । त्यो परम्परागत बिहे थिएन । मनदेखि मानेको बिहे हो । उहाँको सबै सम्पत्ती मेरै नाममा नै थियो । अझैपनि पासपोर्टमा उहाँकै नाम छ ।
अनि डिभोर्स भएको भन्न मिलेन हैन ?
हाम्रो बिहे कानूनी रुपमा भएको भए पो डिभोर्सको कुरा । औपचारिक रुपमा डिभोर्स भएको छैन । मैले उहाँको सबै सम्पत्ति फिर्ता गरिदिएँ । अब केका लागि डिभोर्स ?
अहिले बोलचाल छ कि छैन त ?
म उहाँलाई अझैपनि सम्मान गर्छु । कुनैबेला एउटै छतमुनी बसेर पनि बोलचाल भएन । तर अब त्यस्तो छैन । व्यवसायिक सम्बन्ध छ । झन् राम्रो सम्बन्ध बन्दैछ ।
एउटा उचाईमा पुगेपछि रेखाले छविको साथ छोडेको पनि भन्छन् नी ?
मैले कहाँ साथ छोडेँ ? त्यस्तो कसैले भन्छ भने संकीर्ण सोचको उपज हो । भोलि छविजीलाई कुनै समस्या पर्यो भने सहयोग गर्ने पहिलो व्यक्ति रेखा थापा नै हुन्छे ।
दुई वर्षयता धेरै नायिकाको आगमन भयो । उनीहरुको कामलाई कस्तो मानिरहनु भएको छ ?
आगमनको हिसाबले मात्र म अगाडि हो तर उमेरको हिसाबले हामी उस्तै छौं । उनीहरुको काम राम्रो छ । तर अहिले आएकाहरुले नयाँ ट्रेण्ड लिएर आउनुपर्थ्यो, पुरानै फलो गर्नु राम्रो होइन ।
नायिका बन्न कति योग्यता चाहिन्छ ?
नायिका बन्न शिक्षाको आवस्यकता पर्दैन । सामान्य लेखपढ जाने भैहाल्यो नी । कला ठुलो कुरा हो, अध्ययन हैन । तर कलासँगै अध्ययन छ भने झन् राम्रो ।
नेपाली चलचित्रलाई अनावस्यक रुपमा अंग प्रदर्शन गराएको आरोप छ । कसरी हेर्नुहुन्छ ?
कोही सफल के कारणले भएको छ भन्ने कुरा अध्ययन हुन जरुरी छ । रेखा थापा किन सफल भई भन्ने कुरा अध्ययन हुन जरुरी छ । छोटो लुगाले मात्र हिट भएको हो कि मेहनतले हो भन्ने कुरा नयाँ आउने नायिकाहरुले बुझ्नुपर्छ । अंग प्रदर्शन गरेरमात्र त हिट हुँनै सकिदैन । कसैले सफल भइन्छ भनेर दावी गर्छ भनेपनि म मान्दिन ।
बिचमा तपाईँको ब्वायफ्रेन्ड छ भन्ने पनि हल्ला आयो नी ?
म एकदम पारदर्शी मान्छे हो । त्यस्तो भए त म आफै भन्छु नी । त्यो हल्लामात्र हो ।
तपाईँको धेरै नायकसँग व्यवसायिक सम्बन्ध बिग्र्यो भनिन्छ । कारण के हो ?
खै मै पो छुचो हो की ? उनीहरु रेखा थापाको व्यानरमा काम गर्ने रहर देखाउँछन् । आउँछन्, मेरै व्यानरमा चलचित्रमा काम गर्छन्, अनि पछि को हो रेखा थापा भन्दै हिँड्छन् । मलाई नारीलाई डोमिनेट गरेको मन पर्दैन । केटी मान्छेलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्ने मेरो विचार हो । अनि म त्यसबिरुद्ध बोल्छु, सायद अरुलाई मन पर्दैन ।
आर्यन सिग्देलसँग तपाईँको अनस्क्रिन जोडी धेरैले मन पराए । तर अहिले बोलचाल छैन भन्ने सुनिन्छ । फेरी फिल्ममा सँगै देख्न पाइएला ?
उ मेरो निकै नजिकको साथी हो । धेरै मिल्यो भने कहिलेकाहीँ झगडा पनि हुन्छ । कहिलेकाहीँ उ अरुको कुरामा लागेर बहकिन्छ । उसँग मैले फिल्म नै खेल्दिन भन्ने कुरा गलत हो । मैले योसँग खेल्छु, उसँग खेल्दिन कहाँ भन्छु र ?
नेपाल चलचित्र विकास बोर्डमा महिला किन अध्यक्ष नभएका ? तपाईँ अध्यक्ष हुने कुरा पनि थियो नी ?
चलचित्र क्षेत्रमा नलागेका मानिसहरु नै अध्यक्ष भए एकाध बाहेक । चलचित्र क्षेत्रबाट मैले प्रतिनिधित्व गरेर विकास बोर्डमा जान खोज्दा पुरुष चलचित्रकर्मीलाई नै टाउको दुख्दो रहेछ । कतिपय सिनियर महिला कलाकारले पनि कम उमेरको मान्छे भनेर असहयोग गरे । मैले १२/ १३ वर्षदेखि चलचित्र क्षेत्रमा काम गरेर स्पटब्याइ देखि सबै खाले निर्माताको समस्या बुझेको छु । म भन्दा अनुभवी को हुन सक्छ ? ५ वटा फिल्म खेल्ने ६० वर्षको कलाकार अनुभवी रे । १००/ १५० फिल्ममा काम गर्ने अनुभवी नहुने कसरी हुन्छ ? विकास बोर्डमा सक्रिय मान्छे पनि चाहिन्छ । उमेरमा, जोसमा पो मान्छेले काम गर्न सक्छ । नेपालमा बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको घर बनाउन पनि दिदैन ।
राजनीतिमा आउने सोच पनि विकास भएको हो ?
अवश्य ! अब चाँडै नै राजनीतिमा आउने सोँच छ । तर त्यसभन्दा पहिले समाजसेवामा लाग्छु । अब गैर सरकारी संस्था (एनजिओ) खोल्दैछु । त्यस एनजिओ मार्फत शिक्षाबाट वञ्चित हुनुपरेका वालवालिका र महिलाको शिक्षाको लागि पहल गर्दैछु । त्यसपछि मेरो राजनीतिक यात्रा सुरु हुन्छ ।
कुनै दिन मन्त्रीमण्डलमै पनि देख्न पाइएला त ?
राजनीति गरेपछि असम्भव भन्न मिलेन नी । (लामो हाँसो)