Saturday, 12 January 2013

३० भन्दा बढी सञ्चारकर्मीको हत्याको मुद्दा अलपत्र

द्वन्द्वकालका ३० भन्दा बढी सञ्चारकर्मीको हत्याको मुद्दा अलपत्र द्वन्द्वकालमा पत्रकार डेकेन्द्र थापाको हत्यामा आरोपीतहरु विरुद्धको मुद्दा अघि बढेको बेला, सोही अवधिमा मारिएका ३० भन्दा बढी सञ्चारकर्मीहरुसंग सम्बन्धीत मुद्दाहरु अलपत्र परेको नेपाल पत्रकार महासंघले जनाएको छ। गएको एक दशकमा मारिएका अन्य सञ्चारकर्मीहरुसंग सम्बन्धित अधिकांश मुद्दाहरुमाथि सामान्य अनुसन्धान समेत हुन नसकेको महासंघको भनाइ छ।
ती सबै घटनाहरुको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न उसले सरकारसमक्ष माग गरेको छ। चासो करिब नौ वर्षअगाडिको घटनालाई लिएर प्रहरीले गत साता दैलेखबाट पाँचजना आरोपितहरुलाई पक्राउ गरेपछि द्वन्द्वकालमा ज्यान गुमाउन बाध्य पत्रकारहरुको मुद्दाको अवस्थाबारे चासो बढेको हो। सो अवधिमा ३३ जना सञ्चारकर्मी मारिएका तथा तीन जना बेपत्ता पारिएका एवं अन्य कैयौं विस्थापित भएको महासंघले जनाएको छ। हत्याका अधिकांश घटनामा कुनै अनुसन्धान हुन नसकेको महासंघका अध्यक्ष शिव गाउँलेले बताए। उनले भने, “धेरैको कारवाही भएको छैन। उमा सिंह तथा वीरेन्द्र शाहको मुद्दामा केही व्यक्ति जेल परेका छन्। तर अन्यको हकमा कस्तो स्थिति छ भने गहिराइमा गएर अनुसन्धाननै नभएको कारणले गर्दा अभियुक्तहरु कति हुन् र कति कानूनी दायरामा आउनुपर्थ्यो भन्ने कुरानै प्रष्ट भएको छैन। सबै घटनामा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न हामीले माग गरेका छौं,” उनले भने। डेकेन्द्र थापाकै घटनालाई लिएरपनि प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालसंग सम्बन्धित विषयहरु केवल प्रस्तावित सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सल्टाउनुपर्ने टिप्पणी गरेका छन्। तर पत्रकार हत्याजस्तो विषयलाई द्वन्द्वसंगमात्रै जोडेर पन्छिन नमिल्ने अधिकारकर्मीहरुको भनाइ छ। सञ्चारकर्मीहरुको अधिकार वकालत गर्ने संस्थाहरु मध्येको एक फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले भने, “द्वन्द्वसंग जोडेर मिसमास गर्ने काम भएको छ। उनीहरु द्वन्द्वका पक्ष थिएनन्। यदि उनीहरु द्वन्द्वकै पक्ष थिए भनेर राज्यले प्रमाण दिन्छ भने ठिकै छ द्वन्द्वकै विषयसंग त्यसलाई जोड्नुपर्छ। तर निहत्था निर्दोषलाई द्वन्द्वकै पक्षको रुपमा व्याख्या गरेर यसलाई द्वन्द्व वा शान्तिसंग जोडेर हेर्नुहुँदैन।” सरकारले पत्रकार डेकेन्द्र थापाको हत्या आरोपीहरुमाथिको मुद्दा अघि बढ्न नदिन दबाब दिएको भन्दै शुक्रवार पत्रकार महासंघले काठमाण्डू सहित देशभर विरोध प्रदर्शन गरेको थियो।

You Might Also Like This

 

Pages