डोटीको छतिवन गाविस ९ रुवसकाँडा नजिकै बस दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। नागरिकन्युजकर्मी पुष्पराज जोशीका अनुसार अछामको जयगढबाट टीकापुर तर्फ आउँदै गरेको ना ४ ख ३६०३ नम्वरको यात्रुवाहक बस बिहान ३ बजेतिर दुर्घटना भएको हो।
अहिले घटनास्थल वरपर १२ वटा शव छरपस्ट अवस्थामा रहेको छ। घाइतेको उद्धारकार्य जारी रहेको गैरा प्रहरी चौकीका इन्चार्ज जय सिं भण्डारीले बताए। अँध्यारो भएकाले उद्धारमा कठिनाई भएको बताउँदै प्रहरी इन्चार्ज भण्डारीले भने, 'कठिन भिर र अँध्यारोका कारण उद्धारमा कठिनाई भए पनि प्रहरीले घाइते चार जनालाई घटनास्थलबाट सडकमा पुर्याएको छ।' सडकमा 'खारो' (जमेको हिउँ) भएका कारण चिप्लो भएपछि बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकबाट चिप्लिएर करिब एक किलोमिटर तल पुगेको प्रहरीले जनाएको छ। मृतकको संख्या वढ्न सक्ने प्रहरीले बताएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ। 