Monday, 7 January 2013
अमेरिका र क्यानडा कुद्ने ट्रकमा नेपाल !
पुस २३- एक नेपालीले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात गरेका छन्। उनले ५३ फिट लामो १८ पांग्रे ट्रकको बायाँ भागमा पशुपतिनाथ मन्दिर, गैंडा, बाघ, ताल, जंगललगायतका तस्बिर राखेका हुन्। क्यानडा बसोबास गरिरहेका नरबहादुर टन्डनले यसका लागि ५ हजार ५ सय क्यानेडियन डलर (करिब पाँच लाख रुपैयाँ) खर्च गरेको बताए।
यसमा अमेरिका र क्यानडास्थित नेपाली संघसंस्थाले आधा-आधा बेहोर्ने सहमति भएको छ। गैरआवासीय नेपाल संघ क्यानडा, नेपलिज क्यानेडियन कम्युनिटी सर्भिस, एनसिएनसी, मगर संघ, नेवा गुठी र लालीगुराँस युवा क्लबलगायतले आर्थिक सहयोग गरेको उनले जानकारी दिए। ट्रकमा वाटरप्रुफ ब्यानर राखिएको छ। यसको आयु पाँच वर्ष हुन्छ।
ट्रकमा सर्वोच्च शिखर सगरमाथा, ठूलो अक्षरमा नेपाल, अमेरिका, नेपाल र क्यानडाको झन्डा, बौद्ध गुम्मा, गौतम बुद्ध र हिमालय शृंखला अंकित छन्। शनिबार क्यानडाको ब्राम्टनमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने यो कामको औपचारिक सुरुवात महावाणिज्यदूत कुञ्जर शर्माले गरे। यो ट्रक अमेरिकाका ४६ र क्यानडाका १० राज्यमा पुग्ने गर्छ।