Tuesday, 8 January 2013
यामनारायणकाको टुप्पी १२ फिट लामो
विभिन्न सञ्चार माध्यममा मानिसहरुले नयाँ–नयाँ काम गरेर किर्तिमान कायम गरेको वा गिनिजबुक द वल्र्ड रेकर्डमा नाम लेखाएको समाचार हेर्दा र सुन्दा पाँचथर फिदिम २ का ७२ बर्षीय यामनारायणको मन कटक्क काट्छ ।
उनको मन त्यत्तिकै काटिएको होइन ५ फिट ४ इञ्च अग्ला पाँचथर फिदिम २ निवासी यामनारायणकाको टुप्पी १२ फिट लामो छ ।
सोहि टुप्पीको प्रचार प्रसार गरी चर्चामा आइन्छ कि ? भन्ने आशामा उनी ३९ वर्षदेखि प्रतिक्षामा छन् । यसअघि जिल्ला प्रशासन लगायत पाँचथरका वि भिन्न सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा जागिर खाएर पेन्सन पकाइसकेका उनलाई जिल्लामा अधिकांशले टुप्पी बा भनेर बोलाँउछन ।
आफुले २०२५सालदेखि नकाटेको टुप्पीकै कारण यामनारायाणबाट टुप्पी बा नामले कहलिएका उनको बाचुन्जेलसम्म टुप्पी स्यहार गर्ने र नकाट्ने प्रण मात्र होइन टुप्पीकै माध्यमबाट गिनिजबुकमा नाम लेखाउने धोको पनि छ । भन्छन त्यत्तिका बर्ष सरकारी जागिर खाँए टुप्पीको चर्चा कमै भयो । बुढेस कालमै भएपनि पत्रकारहरुले टुप्पीको बारेमा लेखिदिए कतै सपना पुरा हुन्थ्यो कि ?
टुप्पी महिमा
यामनारायणले किन टुप्पी पाले र किन बाँचुन्जेल नकाट्ने अठोट गरेका छन त ? उनको कहाँनी पनि गजब को छ ।भन्छन कुरा हो २०२५ साल मंसिरको, पुर्णिमाको बिहानपख । सुतिरहेको थिँए,सपनामै पँहेंलो बस्त्र लगाएका अनि बुढ्यौली लागेका एकजना सन्त आए अनि टाउकोमा हात राखेर अव यो टुप्पी कहिल्यै नकाट्नु बाँचुञ्जेलसम्म संरक्षण गर्नु भनेर अनि एकपटक डमरु बजाएर अलप भए, त्यसदिनदेखि कहिल्यै काटेको छ्रन र काट्दिन पन ।
सपनामा सन्तबाट यस्तो आदेश आएपछि टुप्पी पाल्न थालेको हुँ ।तर २०४०सालतिर गोरुलाई घाँस काट्न रुख चढ्दा ४ फिट चाँहि चुडिएर गयो । त्यसबेला जीवनमै सबैभन्दा धेरै दुःखा लाग्यो र रोएँ पनि ।
स्याहार्न पिरलो
उचाई भन्दा ठिक दोब्वर लम्वाईमा उचाई रहेकले टुप्पी देखाउन पनि उनले दोस्रो तला वा भ–याङ वा रुखमै चढ्नु पर्छ ।
टुप्पीको स्याहार गर्न सामान्य अवस्थामा भन्दा पनि नुहाँउदा र राती सुत्दा भने निक गाहो हुने गरेको उनी वताँउछन । यसअघि जिल्ला प्रशासन लगायत विभिन्न सरकारी कार्यालयमा जागिर खाएर निबृत्त भएका भण्डारी जागिर खाइन्जेल सरकारले नदेखेपनि अब चाँहि देखाएरै छोड्ने प्रण्मा छन ।
टुप्पीकै माध्यमबाट गिनिजवुकमा नाम लेखाउने धोको छ यस्का लागि पत्रकारहरुले मलाई सहयोग गर्नुपर्छ । यत्तिका बर्ष पालिसकें, अब काँटिन,पहिले सपनामा देखिएका सन्त नै आएर काट भनेचाँहि सोच्नु पर्छ नत्र मर्दा पनि सँगै लिएर जान्छु ।
ब्राह्मण जातीको परम्परामा पनि टुप्पी काट्न मिल्दैन तसर्थ यो टुप्पी कहिल्यै काट्दिन उनी थप्छन् । लामो टुप्पी भएकाले नुहाउन जाँदा ठुलो भाँडो (खड्कुँडो)साथै लगेर सोहि भाँडामा थापेर सफा गर्छन उनी । नुहाँउन जाँदा टुप्पीको सम्हाल्न भण्डारीलाई एकजना साथी अनिवार्य चाहिन्छ ।
नुहाइसके पछि पनि सुक्न निकै समय लाग्छ । पहिले दैनिकजसो नुहाँउने यामनारायण आजकल हप्तामा एकदुई पल्ट मात्र नुँहाँउछन् । त्यसै छोड्दा लत्रने सम्भावना भएकाले सम्हालेर एउटै डल्लो बनाएर ठुलो टोपी लगाएर जोगाँउने गरेका छन यामनारायणले आफ्नो टुप्पी ।
फोटोका सौखिन
टुप्पीको प्रचार गर्ने धोको लिएका बृद्ध यामनारायण फोटोका निकै सौखिन छन । कसैले आफ्नो टुप्पी हेर्ने इच्छा गरे सहजै टोपी फुकाएर देखाँउछन । अनि कसैले आफुसँग फोटो खिच्ने इच्छा राखे तुरुन्तै तयार हुन्छन ।
गाँउमा धामी झाँक्रीको काम पनि गर्ने यामनारायण पाँचथर सदरमुकाम क्षेत्रका निकै प्रिय पात्र हुन् । छोराछोरी र श्रीमतीसँग फिदिम २ पल्लोटारमा बस्दै आएका भण्डारीका दुईवटा धोको छन । त्यो मध्ये एउटा हो आफ्नो टुप्पी सरकारलाई देखाउने अनि अर्को चाँहि गिनिजबुकमा टुप्पीकै माध्यमबाट नाम लेखाउने । धोको सँगै उनको चिन्ता पनि छ । उमेरले डाँडो काटिसक्यो यदी दुईवटै काम गर्न नसके ? भन्छन मानिसहरुले विभिन्न फरक गतिविधि गरेर चर्चा कमाउदै आएका छन । यत्तिको लामो टुप्पी सायद बिश्वमै मेरो मात्र हो ।टुप्पीकै माध्यमवाट नाम कमाउन चाहन्छु । त्यसका लागि पत्रकारहरु नानीहरुको साथ चाहिएको छ ।
सामान्य मात्र लेखपढ गर्न सक्ने भएकाले जहाँसुकै पुग्दा कुरा राख्ने भाँती नपुग्दा आफ्नो ओझेलमै रहेको उनको गुनासो छ ।