Sunday, 6 January 2013

पोखरामा धम्की दिदै रकम असुल गर्ने ७ जना पक्राउ

पोखरामा विभिन्न समयमा धम्की दिदै रकम असुल गर्ने ७ जना पक्राउ परेका छन् । गुण्डागर्दीबिरुद्ध पोखरा प्रहरीको अभियानअन्तर्गत कास्की प्रहरीले शनिवार सात जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक राख्ने कसुर गरेको भन्दै मुद्धा दायर गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा पोखरा–१०, बस्ने वर्ष ३५का मिलन भनिने राजेन्द्र गुरुङ, अर्चलबोट बस्ने वर्ष २५का सुजित मुल्मी, अर्चलबोटकै वर्ष २६का रोहित पुन, वसपार्क वस्ने वर्ष ३८का बिरेन्द्र खड्का, फुलबारी बस्ने बर्ष २६का दीपक गुरुङ, बगर बस्ने वर्ष २८का देवबहादुर मगर, नदिपूर बस्ने वर्ष २०का असन श्रेष्ठ गरेका छन् । कास्की प्रहरीले आज एक विज्ञप्ति प्रकाशित गरी उनीहरुको फोटोसमेत सार्वजनिक गरेको छ । उनीहरुमाथि पोखरा र आसपासका क्षेत्रहरुमा उद्योगी, निर्माण व्यवसायी तथा घर जग्गा व्यवसायीहरुसँग धम्की दिएर रकम असुली गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरिक्षक प्रकाश श्रीकमल नेतृत्वको टोलीले हिजो दिउसो दुई बजे पक्राउ गरेको हो । उनीहरुले कास्कीको हेमजा गाविसको वडा नं ७, सुईखेतमा जग्गा कारोबार गर्ने व्यवसायीहरुसँग रकम माग्दै गरेको र नदिए अपहरण गर्ने र ज्यान मार्ने धम्की दिईरहेको अवस्था पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान भईरहेको र घटना संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कास्की प्रहरीले केही दिन अगाडि नै लाली गुराँस समूह(एलजी)का नाईके मानिने ललित गुरुङलाई पक्राउ गरेको थियो ।

You Might Also Like This

 

Pages