Saturday, 5 January 2013
महिला हिंसा र चलचित्रका नाङ्गा ‘बिन्दू’हरु
अमेरिकामा एकजना नेपाली चेली छिन्, बिन्दू परियार । केही बर्षपहिले एक अमेरिकी वृद्धसँग बिहे गरेर अमेरिका भासिएकी बिन्दू अमेरिकामा बिन्दू, बिन्दिया जस्ता उपनामले चर्चित छन् । उनको कामै हो नांगिनु । नांगो बन्नु उनको दैनिकी हो । जति नांगिन सक्छिन्, त्यसैले उनको दिनको सफलता या असफलता निर्धारण हुन्छ । बिन्दूको अहिले पनि इन्टरनेटमा छ्याप्छ्याप्ती कामुक फोटो भेटिन्छन् । फरक के छ भने उनी जहाँ छिन्, त्यहाँको समाजलाई उनको काम पाच्य छ । तर, पछिल्लोपटक नेपाली सिने जगतमा चर्चित हुन चाहने केही हुल ‘बिन्दू’हरु उदाएका छन्, जो बिन्दूलाई समेत माथ गर्ने गरी ‘मागेजति’ नाङ्गनि सहजै तयार हुन्छन् । अर्थात, नेपाली सिने उद्योग पोर्नोग्राफी उत्पादन गर्ने कारखानाझैं देखिन थालेको छ । समाजमा महिला हिंसा बढेनुको कारणबारे खोजी भइरहेका बेला नेपाली चलचित्रले दिने सन्देशका विषयमा पनि बहस गर्नैपर्ने भएको छ ।
पछिल्लोपटक आएका चपली हाइट, एटीएम, थ्री लभर्स, लूट जस्ता नेपाली चलचित्रमा जबर्जस्त यौन मनोविज्ञान, छाडापन छिरेको छ । अर्थात बर्ष ०६८ लाई नाङ्गा फिल्महरुले नै धान्यो । चलचित्रको कथावस्तु वा सन्देश स्तरीय वा मौलिक भएर होइन, हिरोइनले दिएको नग्न दृश्य र फोहोरो शब्दले ती चलचित्रलाई बिकायो । एकै किसिमको कथावस्तु अनि प्राचीन शैलीका चलचित्र हेरिरहेका दर्शकका लागि चलचित्रमा प्रयुक्त छाडा शब्द र नग्नताले केही नौलो स्वाद त दियो, तर, आफ्ना परिवारका सदस्यबीच हेरेर बस्नै नसक्ने चलचित्र कलाकारको हितमा छ कि समाजको ? कलाकारहरु नयाँपन दिएका छौं भन्छन्, तर खोक्रो कुराबाहेक फिल्ममा केही हुँदैन । पछिल्ला चलचित्रमा पनि यौन क्रियाकलापका दृश्य र त्यसलाई सघाउनेबाहेक केही दृश्य देखिँदैन । टिकट किनेर फिल्म हलसम्म पुग्न पनि लाजै मान्नुपर्ने ।
यादहरु ताजै छन्, लमजुङ सदरमुकाम बेंसीशहरमा हामी कुनै बेला परिवारका सदस्य एकसाथ फिल्म हेर्न जान्थ्यौं । नयाँ नेपाली चलचित्र लाग्नासाथ हल भरिभराऊ हुन्थ्यो । राजेश हमालको फाइट आउँदा ताली बज्थ्यो, शिव श्रेष्ठ, दिलीप रायमाझी, श्रीकृष्ण श्रेष्ठको नृत्यले दर्शक फुरुङ्ग हुन्थे, अनि दर्पण छाँयाजस्ता थुप्रै चलचित्र हेर्दै बर्रर्र आँशु खसाल्थे दर्शक । सायद त्यो नेपाली चलचित्रको एउटा युग थियो । जतिबेला नेपाली दर्शकलाई कलिउडप्रति अपनत्व थियो, कलाकार गहनाझैं थिए । चलचित्र हल नै सामाजिक, सांस्कृतिक संवाहक थिए ।
अहिले त चलचित्र हेर्न हलमा जानु त परै जाओस्, टेलिभिजनमा नयाँ चलचित्रका प्रोमो बज्दा च्यानलै परिवर्तन गर्नुपर्ने अवस्था छ । नांगो शरीर र जिब्रै टोक्नुपर्ने फोहोरी शब्द । प्रोमो हेर्दा नै फिल्म हो कि पोर्नोग्राफी खुट्याउनै मुश्किल । पत्रिका हेर्न थाल्यो उस्तै नग्नता ।
नेपाली चलचित्र भनेपछि मुखै बिगार्नुपर्ने अबस्थाका भागिदार स्वयम कलाकारहरु नै हुन । लाग्छ, नेपाली चलचित्र एउटा घृणा र अपमानको घृणाको बिम्ब हो । हुन त नेपालका कथित ठूलाबडाहरुका लागि नेपाली चलचित्र सदैव लाजलाग्ने विषयवस्तु थिए । अर्थात, उनीहरु नेपाली चलचित्र हेर्न थिएटरमा छिर्दैनन । न त भोलि नै छिर्लान । तर, जो कलिउडलाई माया गर्थे । र, अझै पनि नेपाली फिल्म हेर्न चाहन्छन, उनीहरुले पनि सोच्नुपर्ने बाध्यता बनेको छ, परिवार, आफन्त र साथीभाइसँग फिल्महल छिर्नै कि नछिर्ने भनेर ।
हुन त टपलेस हिरोइन बिनिता बरालले एकदिन टेलिभिजन अन्र्तवार्ताका क्रममा भनेकी थिइन- ‘नेपाली युवापुस्ता सेक्सप्रति जानकार छैन, या सेक्सका विषयमा खुल्न चाहन्नन, त्यसैले नांगिने फिल्म खेल्या ।’ हो, सेक्सका सन्दर्भमा नेपाली समाज अझै पनि उदार छैन । फिल्मले सेक्सका विषयमा समाजमा केही जागरण त ल्याउला । तर, त्यसका लागि नांग्गिनु नै एकमात्र उपाय हो त ? बिनिता बराल, सुष्मा कार्की, स्नेहा शर्माका परिवारले आफ्नै छोरीचेली नांगो बनेको चलचित्रसंगै बसेर कसरी हेर्न सक्लान् ? उदारता या दर्शकको मागका नाममा शरीरका सबै अंग देखाउँदै जाने हो भने बिनिता, सुष्मा कार्की, स्नेहा शर्मा, जिया केसी, पुजना प्रधान जस्ता नायिका र पोर्नस्टार बिन्दूमा अन्तर नै के र≈यो र ?
बिनिता बरालले आफै अभिनित चलचित्रका नायकबाट फोहोरी एसएमएसको बाढी झेल्दै ललितपुर प्रहरीको ढोका धाउनुपर्यो । रेखा थापाका विषयमा समाजमा अहिले पनि अधिकांशको गलत बुझाई छ, भलै अंग प्रदर्शनसँगै अभिनयमा समेत निखारपन ल्याउन सकेकै कारण रेखा आजसम्म टिकेकी छिन् । कथाले मागेजति अंग प्रदर्शन गर्न कुनै कसर बाँकी नराख्ने सारंगा श्रेष्ठ र तुलसा सिलवाल आज चलचित्र जगतबाट टाढा छन् । हर्ट गर्ल भन्न रुचाउने जिया केसीले चलचित्र एटीएममा आफ्नो वक्षस्थल समेत नायक दिनेश थापालाई समाउन लगाइन् । जुन दृश्य नेपाली सिनेमामा अहिलेसम्मकै घृणित मानिएको छ । एटीएम फिल्म प्रदर्शनमै बन्देज लाग्यो । वक्षस्थलमा सूर्यको टाटु बनाउने सुष्मा कार्कीलाई सी ग्रेडको फिल्मले प्रगतिको साटो अधोगति बनायो । लामो समयपछि फिल्ममा फर्केकी पुजना प्रधानले चर्चामा आउन सी ग्रेडको फिल्म र नग्नता रोजेकी छिन् ।
यौन मानव जीवनलाई मात्र नभई हरेक प्राणीलाई चाहिने अत्यावश्यक जैविक आवश्यकता हो । ग्ल्यामर आफूमा भएको प्रतिभा हो । जिउ नग्याउँदैमा ग्ल्यामर देखिने हैन, ग्ल्यामर शरीरकको जुनसुकै अंगमा पनि हुनसक्छ । तर, नग्नतालाई चलचित्रको चर्चा बटुल्ने अस्त्र बनाउनु गलत हो । ग्ल्यामरबाट नग्नता तहमा पुगेपछि हिरोइनहरु आफै यौन हिंसाको शिकार हुन्छन् । जो उनीहरुका प्रगतिका सदैव अवरोधक हुन् । नत्र भने श्रीषा कार्की, जेसिका खड्काजस्ता हिरोइनले अल्पायुमै ज्यान गुमाउनुपर्थेन । त्यसको एउटै कारण थियो, विगतमा उनीहरुले गरेको गल्ती । अर्थात, विगतमा नांगिएकै कारणले उनीहरुलाई मृत्युको मुखसम्म पुर्यायो । विगतलाई भुलेर वर्तमानमा राम्रो घर बसाउने उनीहरुको सपना त्यसै तुहियो ।
चलचित्रको पर्दामा नग्नता र अश्लीलता जति बढी प्रस्तुत गर्न सकियो, त्यति नै धेरै कमाइन्छ र सबैको वाहवाही पनि कमाइन्छ भन्ने सिनेकर्मीको मानसिकता नेपाली सिने उद्योगका लागि घातक छ । आर्थिक उपार्जन राम्रो भए पनि नग्नता र सेक्स बेचेर जम्मा गरिएको त्यो कमाइले नेपाली चलचित्रलाई केही दिन बिकाउला तर टिकाउँदैन । जुन जान्दाजान्दै पनि बुझ पचाइरहेका छन्, सिनेकर्मीहरुले ।
चलचित्र यस्तै बन्नुपर्छ भन्ने छैन । विषयवस्तु एउटै हुनसक्छ । तर, त्यसलाई दर्शक सामु पस्कने शैली मौलिक हुनसक्छ । या जसले कलामा जादू देखाउन सक्छ, उही टिक्छ । सस्तो मनोरन्जनका नाममा नायिकाको शरीर सकेपछि एक्स्पोज गराउने प्रवृत्तिले निर्माता-निर्देशकको शैलीमाथि मात्रै प्रश्न उब्जाएको छैन, यही मानसिकता नत्याग्ने हो भने भोलि ब्लू फिल्म समेत नबन्ला भन्न सकिन्न ।
अझ सबैभन्दा रोचक त कुनैबेला मिस नेपालबिरुद्ध राजधानीमा बम पडकाउने माओवादी यतिबेला सरकारमा छ । संस्कृतिलाई बिचलन गरेको भन्दै विगतमा कतिपय कलाकारले यिनै माओवादीबाट सास्ती पनि भोग्नुपर्यो । माओवादीकै सरकार र उसकै तर्फबाट चलचित्र विकास बोर्डमा प्रतिनिधि रहेको बेला यस्ता ‘भल्गर’ चलचित्रले कसरी अनुमति पाइरहेका छन् ? महिलाको अंग प्रदर्शनको खेतीको विरोध गर्ने माओवादीले नेपाली संस्कृतिकै हुर्मत लिने चलचित्रको किन विरोध गरिरहेको छैन ? या यो विषय माओवादीले मात्रै उठाउनुपर्छ भनेर एमाले र कांग्रेस चुप छन् ? by Ganesh Pandey-onlinekhabar