Saturday, 12 January 2013

दैलेखका माओवादी जंगल पस्न थाले

पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा चार माओवादी र एक एमाओवादी कार्यकर्ता पक्राउ परेपछि दैलेख जिल्लाका माओवादी कार्यकर्ताहरु धमाधम भूमिगत हुन थालेका छन् । ‘दैलेखको नौमुले इलाकामा अहिले कोही पनि माओवादी कार्यकर्ता घरमा छैनन्, जंगलमा छन् । उनीहरु भूमिगत हुनुपर्ने बाध्यता छ ।’- दैलेखका माओवादी इञ्चार्ज रामलाल बिकले भने । दैलेख घटनाबारे वैद्यपक्षीय माओवादीको जिल्ला संगठन कमिटीले शनिबार बिहान माओवादीको महाधिवेशनस्थलमै पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा बिकले भने-’हाम्रा कार्यकर्ता पक्राउ गरिएको नौमूले इलाकाको स्थिति सामान्य छैन, जिल्ला सदरमुकाममै पनि हाम्रा साथीहरु लुकी लुकी हिँड्नुपर्ने अवस्था आएको छ, यो घटनाले शान्ति सम्झौता भंग गरी मुलुक द्वन्द्वतिर धकेलिएको संकेत गरेको छ ।’
वैद्यपक्षीय माओवादीको पत्रकार सम्मेलनमा वितरित विप्तिमा भनिएको छ-पूर्व सभासद् भरतकुमारी रेग्मीको घर घेरा हाली कामरेडहरुलाई गिरफ्तार गर्नु, दैलेख सदरमुकाममा अघोषित कफ्र्यु लगाई आतंक सिर्जना गर्नु र नौमुले इलाकामा सिभिल प्रहरी र भिजिलान्ते प्रयोग गरी हाम्रा कार्यकर्तालाई घरमा बस्न नसक्ने वातावरण सिर्जना गर्नुले सरकारले शान्ति सम्झौता भंग गरेको मात्र होइन, द्वन्द्वको शुरुवात गरेको स्पष्ट हुन्छ ।’ वैद्यपक्षीय माओवादीका दैलेख सेक्रेटरी गंगाबहादुर घर्ती-गजेन्द्र राई)द्वारा जारी विज्ञप्तिमा डेकेन्द्रका हत्या आरोपीको वयान सार्वजनिक भएकोमा आपत्ति जनाइएको छ । ‘गिरफ्तार व्यक्तिले दिएको वयान भनेर सञ्चार माध्यममा प्रचार गरी गोपनीयता भंग गरिनुका साथै न्याया विपरीत कार्य गरिएको छ र ती व्यक्तिले मिडियामा आएजस्तै वयान दिए नदिएको विश्वसनीताको कुनै आधार छैन ।’-वक्तव्यमा भनिएको छ । डेकेन्द्र हत्याबारे प्रचण्डलाई सोध्नोस् पत्रकार थापाको हत्या कसले र किन गरेको भन्ने पत्रकारको प्रश्नमा इञ्चार्ज बिकले भने,-’यसबारे मलाई अधिकार छैन, प्रचण्ड र बाबुरामलाई सोध्नोस् ।’ द्वन्द्वकालमा १४ हजार मानिसको हत्या भएकाले सबैका बारेमा सत्य निरुपण तथा मेलमिलाप आयोग बनेपछि डेकेन्द्रका बारेमा पनि त्यहीँ कुरा आउने उनले बताए ।

You Might Also Like This

 

Pages