Sunday, 13 January 2013
हाँस्न सिक्दै ट्राफिक प्रहरी
हाँसेर बोलिदेउ ट्राफिकदाई-त्यो बोलीले लठ्याओस् हामीलाई’ ट्राफिक प्रहरीलाई ‘हाँसो कक्षा’ लिएर फर्केपछि हास्यव्यंग्यकलाकार मनोज गजुरेलले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो यो । दिनभर सडकको चोकचोकमा उभिएर गाडीको ‘गोठालो’ लाग्ने ट्राफिक प्रहरीका लागि गजुरेलले शुक्रबार हँसाउने कला सिकाउनुभएको हो । ‘ट्राफिक साथीहरुले निकै रुचीपूर्वक क्लास लिनुभयो, मलाई पनि निकै आनन्द भयो’ कलाकार गजुरेलले अनलाइनखबरसित भन्नुभयो ।
सर्भिस वीथ स्माइल अर्थात मुस्कान सहितको सेवा अभियान अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले सडकमा खटिने ट्राफिक प्रहरीका लागि हँसाउने कक्षाको व्यवस्था गरेको हो । शुक्रबार भएको कक्षामा झण्डै एकसयजना ट्राफिक प्रहरी सहभागी थिए । उनीहरुलाई ‘जोकशास्त्र’ सिकाउने गुरु थिए-कलाकार गजुरेल । ‘कार्यक्षेत्र र घरपरिवारमा आइपर्ने तनाव न्यूनिकरणको लागि सेन्स अफ हृयुमर अर्थात हाँसोको मनोविज्ञान बुझ्न जरुरी छ, जुन कुरा ट्राफिक प्रहरीले मजाले बुझ्नुभयो’ गजुरेलले भन्नुभयो ।
चोकमा उभिएर जाम खुलाउने, लाइसेन्स माग्ने, सवारीलाई व्यवस्थित गर्ने लगायतका काममा खटिने ट्राफिक र गाडी चालकबीच प्रायः विवाद र तनाव भैरहन्छ । ‘यस्तो तनाव कम गर्न हाँसोको मनोविज्ञान अर्थात सेन्स अफ हृयुमर बुझ्न जरुरी छ’ गजुरेलले भन्नुभयो-’आशा छ मेरो कक्षा लिएका ट्राफिक साथीहरुले कार्यक्षेत्रमा खटिँदा यसको अनुशरण गर्नुहुन्छ ।’
गजुरेलको हाँस्ने सूत्र
सार्वजनिक कार्यक्रम र सभासमारोह मार्फत हँसाउने र व्यंग्यको झटारो हान्ने काम गर्दै आएका गजुरेल हिजाआज प्राज्ञिक क्षेत्रमा पनि काम गर्छन् । सेवाग्राहीलाई प्रत्यक्ष रुपमा काम गर्ने कर्मचारीको व्यवहार सुधार्न सरकारले मुस्कान सहितको सेवा अवधारणा लागू गरेपछि गजुरेलको कामले पनि प्राज्ञिक रुप लिएको हो । उहाँले एक वर्षदेखि स्टाफ कलेजमा सरकारी कर्मचारीहरुलाई ‘सेन्स अफ हृयुमर’ कक्षा लिँदै आउनुभएको छ । पछिल्लोपटक उहाँले ट्राफिक प्रहरीलाई पनि यस्तै कक्षा दिनुभयो ।
‘हाँसो भनेको सस्तो मनोरञ्जन मात्रै होइन, यसले तनाव र अस्थिर मनलाई नियन्त्रण गर्ने काम गर्छ’ गजुरेलले भन्नुभयो-’त्यसैले हाँसोलाई विज्ञानको रुपमा लिनुपर्छ, हाँसो उत्पन्न गराउने मनोविज्ञान बुझ्नुपर्छ ।’ गजुरेलको बुझाईमा हाँसोको मनोविज्ञान अभावले नै कर्मचारी र सेवाग्राही तथा ट्राफिक र चालकबीच विवाद र तनाव उत्पन्न हुने गरेको छ । ‘जोकशास्त्रीय दृष्टिकोणले तनाव न्यूनिकरण गर्न सकिन्छ’ गजुरेलले भन्नुभयो । सेन्स अफ हृयुमर अर्थात हाँसाको मनोविज्ञान पढाउने शास्त्रलाई गजुरेलले जोकशास्त्र भनेर नामाकरण गर्नुभएको छ ।
तनाव भएको बेला कसरी हाँस्ने त ? गजुरेलको जवाफ छ-’पहिले ध्यान अर्थात मनलाई एकाग्र बनाउने, त्यसपछि सकारात्मक सोच बनाउँदै घटनालाई सामान्यीकरण गर्ने र मनैदेखि हाँसेर तनावलाई व्यस्थित गर्ने ।’