Tuesday, 25 December 2012

लुटपाट क्यासियरकै योजनामा-२५ लाख दिएर काठमाण्डौबाट लुटेरा


चार दिनअघि दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौको शाखामा भएको लुटपाटका प्रमुख योजनाकार सोही बैंकका क्यासियर रहेको खुलेको छ । पटक-पटक बैंकको रकम हिनामिना गरिसकेका क्यासियर खगेन्द्र बस्नेतले हिसाब मिलान गर्न अप्ठारो भएपछि काठमाण्डौंबाट लुटेरा बोलाएर लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तीन जनाको समूहमा आएका लुटेराहरुले बैंकवाट शुक्रवार साँझ बैंकको शाखावाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ लुटेका  थिए ।
अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बस्नेतले आफ्नै योजना लुटपाट गरेको र त्यसका लागि तीन जना लुटेरालाई २५ लाख खुवाएको बयान दिएको दाङ प्रहरी स्रोतले जानकारी दिएको छ । बस्नेतकै बयानका आधारमा लुकाई राखेको अबस्थामा ८६ लाख ८९ हजार नगद बरामद गरिएको छ । बस्नेतका भाई नाता पर्ने कुमारी बैँकका चालक मानपुर ९ घर भई तुलसीपुर-४, शिबनगरमा डेरा गरि बस्ने अमर बोहराको कोठमा बोरा, ओछ्यान, गागि्र र सिरानिमा लुकाएर राखेको अबस्थामा करिब ८९ लाख रुपैयाँ फेला परेको हो ।
बयानका क्रममा बस्नेतले पटक-पटक गरि बैंकको करिब ८५ लाख रुपैयाँ हिनामिना गरेको र हिसाब मिलान गर्न अप्ठारो हुँदा लुटपाटको नाटक गर्नु परेको बयान दिएका छन् । बस्नेतले सेवाग्राहीले डिपोजिट गर्न ल्याएको रकम पनि खातामा डिपोजिट नगरि आफैले राख्ने गरेको खुलेको छ । बैंकबाट २ करोड ६ लाख बढी लुटिएको भनिए पनि केही रकम पहिले नै निकालिएको प्रहरीले अनुमान गरेको छ । बस्नेतको साथमा उनले काटेको ९ लाख ९० हजारको चेक पनि प्रहरीले बरामद गरेको छ । घटनाका बारेमा अनुसन्धान गर्नका लागि क्षेत्र, अञ्चल, जिल्ला, इलाका, शसस्त्रका प्रहरी र केन्द्रीय अनुसन्धान व्युरोको टोलि पनि दाङमा खटिएको छ । प्रहरीले अनुसन्धान जारी रहेको भन्दै घटनाबारे औपचारिक जानकारी भने दिएको छैन् ।

You Might Also Like This

 

Pages