Tuesday, 25 December 2012

त्रिशुलीमा ट्रक खस्यो; न ट्रक भेटियो, न यात्रु भेटिए


धादिङ, पुस १० - पृथ्वी राजमार्ग अन्तर्गत गएराति ११ बजे गजुरी बजार नजिकैबाट एउटा ट्रक त्रिशुली नदीमा खस्दा दुई जना बेपत्ता छन्। काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको एनएल ०२ के ४३३८ नम्बरको भारतीय ट्रक नदीमा खस्दा गाडी चालकसहित दुई जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा ट्रक चालक भारत कोलकाताका शंकर नेपाली र एक नाम नखुलेका नेपाली नागरिक भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले जानकारी दिए।
सह-चालक कोलकाताका आनन्द अग्रवाललाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ। घाइते अग्रवालको गजुरी अस्पतालमा उपचार भैरहेको छ। सडकबाट करिब दुई सय फिट तल त्रिशुली नदीमा खसेको ट्रकको उद्धार कार्य जारी छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना स्थानीय स्वयंसेवक खटिएका छन्।
मालसामान ढुवानी गर्ने लहरी ट्रकको पछाडि केही भाग देखिएको प्रत्यक्षदर्शी स्थानीयले बताए। राती पानी चिसो र नदी गहिरो भएकाले बिहानदेखि थप उद्धारका काम भैरहेको प्रहरी निरीक्षक घिमिरे बताउँछन्। यसअघि शनिबार जोगिमाराबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको ट्रक र त्यसमा सवारको पहिचान हुन सकेको छैन।

You Might Also Like This

 

Pages