Monday, 17 December 2012
रेखा थापाले भनिन्- ‘एउटा माघले जाडो जाँदैन’
चलचित्र विकास वोर्डको अध्यक्ष बन्नका लागि नायिका रेखा थापाले केही समयअघि एकीकृत माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्मलाई भेटिन् । तर, रेखाको नाम मन्त्रिपरिषद्को बैठकमा कहिल्यै पुगेन । यतिबेला आएर चलचित्र विकास बोर्डमा नायिका थापाको लबिङ चलिरहेकै बेला अर्का एक निर्माताको नाम एकाएक अगाडि आएको छ ।चलचित्र नाईन ओक्लकका निर्माता रमेश संवेदना चलचित्र विकास बोर्डको अध्यक्ष हुने चर्चाले सिनेमा बजार तातेको छ ।
बोर्डको अध्यक्ष बन्ने खबरबारे संवेदनासँग बुझ्दा उनले आफुलाई कुनै खबर नभएको बताए । तर, डेढ महिनाअघि आफुले फिल्म सिटी निर्माण गर्ने योजनासहित बायोडाटा बुझाएको उनले बताए । संवेदनाले भने, फिल्म सिटी निर्माणका लागि एक मेरा कोरियन साथी इच्छुक छन् । उनले बोर्डसँग मिलेर फिल्म सिटी निर्माण गरिदिने बताएका छन् ।’ आफुले उनको नामसहित फिल्म सिटीको अवधारणा प्रस्तुत गर्दै बायोडाटा बुझाएको संवेदनाले बताए । आफु बोर्डको अध्यक्ष बनेमा डेढ अर्ब लगानीमा फिल्म सिटी निर्माण गरिदिने उनको भनाइ छ ।
सरकार ढल्नुअघि बस्ने मन्त्रिपरिषद्को बैठकमा संवेदनाको नाम सिफारिश गर्ने तयारी सञ्चारमन्त्री राजकिशोर यादवले गरेको स्रोतको भनाइ छ । चलचित्र विकास बोर्डको अध्यक्षमा रमेश संवेदनाको नाम सिफारिश भएको खबरसँगै सिनेमा नगरीमा हलचल मच्चिएको छ ।