Sunday, 16 December 2012

घरबाटै बाजा बजाएर दोस्रो विहे गरिन्-आमा समूहको नियमले

आमा समूहले गराइदिए दोस्रो विवाह,स्याङ्जा, पुस २ - महिला समानताका लागि बर्सेनि सरकारी तथा गैरसरकारी संस्थाबाट करोडौं खर्च हुन्छ । तर बिना लगानी यहाँ एउटा आमा समूहले गरेको कार्य समानताका लागि काफी छ । भाटखोला ७ मा सम्बन्धविच्छेद गरी माइती बस्दै आएकी २५ वर्षीया तारा अधिकारीले घरबाटै बाजा बजाएर दोस्रो विहे गरिन् आमा समूहको नियमले । अधिकारीको सदरमुकाम स्याङ्जा बजारका गोपाल पौडेलसँग विहे भएको हो । स्थानीय जनज्योति आमा समूहले गाउँमा सम्बन्धविच्छेद भएका महिलालाले माइती घरबाटै बाजा बजाएर विहे गर्न पाउनुपर्ने नियम बनाएको छ ।
नौ वर्षअघि गाउँमै बिहे भएकी अधिकारीको घरेलु हिंसाका कारण दुई वर्षअघि सम्बन्धविच्छेद भएको थियो । 'विभिन्न व्यक्तिसँग बिहेको चर्चा चल्दा घरबाटै बाजा बजाएर बिहे गर्नुपर्छ भन्ने अडान राखेका थियौं,' आमा समूह अध्यक्ष राधा पौडेलले भनिन्, 'महिलालाई दोस्रो बिहे गर्दा हिनताबोध हुनु नपरोस् भनेर यसो गरेका हौं ।' जन्ती पक्षबाट बाजा नल्याएपछि आमा समूहले पैसा तिरेर बाजाको चाँजोपाजो मिलाएका थिए । 'यस्ता बिहेमा बाजाको व्यवस्था आमा समूहले नै गर्छ' पौडेलले भनिन् । हुन त दोस्रो बिहे बाजा बजाएर गर्ने प्रचलन बढ्दो रहे पनि ग्रामीण क्षेत्रमा आमा समूहले यस्तो काम गरेको जिल्लामा पहिलो हो । समूहले गाविसमा समाज सुधारका लागि विभिन्न कार्य गर्दै आए पनि यसरी बिहे गराएको पहिलो हो । 'हामीले बोल्नु र व्यवहारमा उतार्नुमा धेरै फरक हुन्छ,' स्थानीय सीता थापाले भनिन्, 'त्यसैले हामील्ो व्यवहारमै उतारेका हौं ।' 'अरूलाई यो कुरा सामान्य लागे पनि हाम्रो ग्रामीण क्षेत्रमा यसले ठूलो महत्व राख्छ' उनले भनिन् । 'आमा समूहको सहयोग भएपछि मैले सोचेजस्तै भयो,' दुलहीका बुवा चन्द्र अधिकारील्ो भने । करिब १५ वर्ष अगाडि गठन भएको यस समूहले दुई तीन वर्ष अगाडि नै गाविसलाई मदिरा निषेधित घोषणा गरेको छ । 'आमा समूहको कारणले गाउँलाई सुधार गर्न सजिलो भएको छ,' पूर्वप्रहरी नायव उपरीक्षकसमेत रहेका स्थानीय लालबहादुर थापाले भने, 'सबै ठाउँमा आमा समूहले यस्तो काम गर्न जरुरी छ ।'

You Might Also Like This

 

Pages