Wednesday, 19 December 2012

पर्यटक भिसामा युएई जान कडाइ


पर्यटक भिसामा युनाइटेड अरब इमिरेट्स (युएई) जानेमाथि सरकारले कडाई गरेको छ । युएईलाई ट्रान्जिट बनाएरु अवैध तरीकाले व्यक्तिगत तवरमा इराक, अफगानिस्तानलगायतका देशमा जानेको संख्या बढेपछि सरकारले कडाई गरेको हो । युएईलाइ ट्रान्जिट बनाउनेसँग नक्कली ‘पर्यटन भिसा’ बढी भेटिएका छन् ।
‘पर्यटक भिसामा युएई जानेहरुले युएईलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अवैध तरीयकाले व्यक्तिगत रुपमा अफगानिस्तान, इराक, कुवेत, इरानलगायतका देशमा गएको भेटिएको छ’, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘जोखिम क्षेत्रमा जाने भएर मात्र होइन, युएई जानेहरुले पेस गरेको धेरै पर्यटक भिसा नक्कली देखिएकाले कडाई गरिएको हो ।’
व्यक्तिगत तवरमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाइएको अफगानिस्तान, इराक, कुवेत, इरान, ओमान लगायतका खाडी राष्ट्र जाने अधिकांशले युएई हुँदै ती देशमा जाने गरेको भेटिएको छ । यस्ता व्यक्तिले युएईसम्म पर्यटन भिसा र त्यहाँबाट सम्बन्धित देशको भिसा दिई व्यक्तिगत तवरमा ती देश पुग्ने गरेका छन् । यसरी जानेहरु अलपत्र परे उद्धार गर्न कठिन हुने गरेको खबर नागरिक दैनिकले छापेको छ ।
युएईमै काम गर्न जाने र युएईलाई ट्रान्जिट बनाई अन्य देशमा जानेले वैदेशिक रोजगार विभागमा बुझाएको युएईको पर्यटन भिसा धेरै नक्कली भेटिएपछि सरकारले कडाई गर्ने निर्णय लिएको थियो । राम्रा भनिएका म्यानपावर कम्पनीले समेत युएई पठाउन विभागमा पेस गरेका सम्पूर्ण भिसा नक्कली भेटिएका थिए ।

You Might Also Like This

 

Pages