Wednesday, 12 December 2012

चारदलको घेराबाट बाहिर निस्कने राष्ट्रपतिको तयारी


27 मंसिर,069 नयाँ प्रधानमन्त्री सिफारिस गर्न तीनपटक गरी २० दिनसम्म दिएको समय प्रमुख चार दलका नेताले गुजारेपछि राष्ट्रपति डा. रामवरण यादव चार दलको विकल्प खोज्ने तयारीमा जुट्नुभएको छ । यसका लागि राष्ट्रपतिले चारदल बाहिरका शक्तिहरुसित मंगलबारदेखि नै छलफलसमेत थाल्नुभएको छ ।
तेस्रोपटक दिइएको समयसीमा सकिएपछि चारदलले संयुक्त रुपमा आग्रह गरे अन्तिमपटक समय थप्ने तर त्यसमा पनि सहमति नभए सर्बदलीय बैठक बोलाउने राष्ट्रपति यादवको तयारी रहेको रहस्य खुलेको छ । आज अर्घाखाँचीबाट र्फकँदा पनि दलहरुले म्याद थपको आग्रह नगरे विहीबार सर्वदलीय बैठक बोलाएर आफ्ना कुरा राख्ने आफ्नो योजना केही नेताहरुसमक्ष खोल्नुभएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, कमल थापा नेतृत्वको राप्रपा नेपाल र उपेन्द्र यादव नेतृत्वको मधेसी जनआधिकार फोरम लगायत अन्य कतिपय साना दलहरुले चार दलको घेराबाट बाहिर निस्कन र आफूहरुलाई पनि छलफलमा सहभागी गराउन आग्रह गरिरहेका बेला राष्ट्रपतिले चार दलले नसके सर्वदलीय बैठक बोलाउने निधो गर्नुभएको हो । तर, नेकपा माओवादीले भनेजस्तो ‘गोलमेच सम्मेलन’ नभनेर राष्ट्रपतिले यसलाई सर्वदलीय बैठकको संज्ञा दिनुभएको छ । राष्ट्रपतिको यस्तो तयारीले अब उहाँ चारदलको मुख ताकेरमात्रे नबस्ने स्पष्ट संकेत गरेको छ ।
सर्बदलीय बैठकको तयारीस्वरुप यादवले चार दल बाहेकका दलहरु सँगको परामर्शलाई तीव्र पार्नुभएको छ । मंगलबार नेकपा-माओवादी लगायत अन्य केही साना वाम पार्टीसँग उहाँले यसविषयमा छलफल गर्नुभएको छ । त्यसैगरी बुधबार अर्घाखाँची जानुअघि राष्ट्रपतिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका नेता शरदसिंह भण्डारी, पर्शुराम तामाङ लगायतसँग पनि भेटेका छन् ।
‘अब अन्तिम पटक समय दिन्छु र त्यसमा पनि सहमति नभए सर्बदलीय बैठक बोलाएर आफ्ना कुरा राख्छु भन्नुभएको छ’ मंगलबार राष्ट्रपतिलाई भेटेका नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले अनलाइनखबरसँग भन्नुभयो । त्यसैगरी माले महासचिव सीपी मैनालीका अनुसार चारदलले सहमति ननिकाले राष्ट्रपतिले सर्बदलीय बैठक गरेर त्यसका आधारमा अघि बढ्ने बताउनुभएको छ । ‘दलहरुबीच सहमतिको विकल्प छैन भन्नेमा उहाँको जोड थियो’ मैनालीले भन्नुभयो-’सर्बदलीय बैठक गरेर त्यसबाट आएको सुझावकै आधारमा अघि बढ्छु भन्नुभएको छ ।’
नेताहरुका अनुसार राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आफूले गरेको आहृवानबारे राय माग्दै अब के गरौं भन्नेर सोध्नु भएको थियो । राष्ट्रपतिलाई भेटेका नेताहरुले पनि सर्बदलीय बैठकबाट निकास खोज्ने उहाँको तयारीको समर्थन गरेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले अनलाइनखबरसँग भन्नुभयो-’अब चार दलले मुलुकलाई निकास दिन सक्दैनन्, सर्बदलीय छलफल र सहमतिका आधारमा निकास खोज्नुपर्छ भनेर सुझाव दिएका छौं ।’
राष्ट्रपतिले मंसिर ८ गते सात दिनको समय तोकेर अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको प्रधानमन्त्री र निजको अध्यक्षतामा गठन गरिने मन्त्रिपरिषद् सिफारिस गर्न आहृवान गर्नु भएको थियो । त्यसपछि दलहरुको आग्रहमा दोस्रोपटक थपिएको ७ दिनमा पनि सहमति नजुटेपछि थपिएको छ दिनको समय बुधबार सकिँदैछ ।

You Might Also Like This

 

Pages