६ पुस,उनी ९० बर्षको उमेरमा पनि रातापिरा र हट्टाकट्टा छन् । लठ्ठीबिनै ठमठमी हिँड्ने तागत छ । यो उमेरमा छोरासँग बकस मुद्दा लड्न ठाँटिएर सर्वोच्च अदालतसम्म आइपुगेका छन् उनी । ६ वटी पत्नीका पति उनी हुन दोलखा मालीका गणेशप्रसाद दाहाल । उनले छोरासँग लडेको यो २६ औं मुद्दा हो ।
माइली पत्नीतर्फका जेठा छोरा परशुरामसँग मुद्दा लड्न राजधानी आइपुगेका गणेश बिहीबार सर्वोच्चको इजलास नम्बर १ मा मुद्दाको पालो कुर्दै थिए । छोरालाई दिएको 'हालै बकस' फिर्ता गर्न उनले जिल्लादेखि पनरावेदन हुँदै सर्वोच्चसम्म मुद्दा लडेर हारे पनि अझै निराश छैनन् । २०४३ वैशाखमा छोरा परशुरामलाई ल्याप्चे सहीछाप गरेर दिएको 'हालै बकस' फिर्ता हुनुपर्ने माष् राखेर उनले २०६३ सालमा दोलखा जिल्ला मुद्दा हाले । जिल्ला अदालतले मालपोतबाट बकसको रजिस्ट्रेसन पास भइसकेको भन्दै छोरालाई मुद्दा जिताएपछि उनले फेरि पुनरावेदनमा पाटनमा पुनरावेदन दिए । त्यहाँबाट पनि गणेशका दाबी नपुग्ने भन्दै फिर्ता भएपछि उनी सर्वोच्च आएको खबर विभिन्न दैनिक पत्रिकामा छापिएको छ ।
यो भयो जग्गाको प्रसंग, गणेश र परशुरामबीच बाबु छोरा मात्र नभई अर्को नयाँ सम्बन्ध छ त्यो हो साढुदाई र साढु भाई । गणेशले आफ्ना छोरा परशुरामकी साली भागीरथीलाई छैटौ पत्नीका रुप्मा भित्र्याएपछि उनीहरुबीच नयाँ नाता स्थापना भएको हो । सर्वोच्च परिसरमा भेटिएका गणेशले भने-'हो मैले छोराकी साली बिहे गरे, ६ वटी विहे गरिसकेको छु, तर छोराकै साली बिहे गरेपछि बेघर भए ।'
