Sunday, 16 December 2012

६० लाखको गहना-नगद चोरेर भागेका लोकनाथ र रेस्मालाई प्रहरीले पक्रियो

काठमाडौं, पुस १- हिरा, सुन, चाँदीलगायत बहुमूल्य गहना र नगद चोरेर फरार रहेका दुईजना अभियुक्तलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। चोरीको अभियोगमा पक्राउ गरिएका काभ्रे कुशादेवी-७ घर भई कीर्तिपुर बस्ने लोकनाथ सापकोटा र धनकुटा साने-८ भई कीर्तिपुर-७ बस्ने रेश्मा राईलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। गत मङ्सिर २७ गते काठमाडौँको लाजिम्पाट बस्ने राजेन्द्र घिरैयाको घरबाट ती दुई अभियुक्तले सुनचाँदीलगायतका गरगहना र नगदी गरी रु ६० लाख बराबरको धनमाल चोरी गरेका थिए।
सामान चोरी गरेलगत्तै फरार रहेका अभियुक्तहरुलाई प्रहरीले मकवानपुरको चाखेल झ्याइडाँडाबाट पक्राउ गरेको थियो। अभियुक्तहरुले सम्पूर्ण योजनासहित नक्कली साँचो बनाएर घरधनी बाहिर गएको मौका छोपेर धनमाल चोरी गरेका थिए। अभियुक्तमध्ये सापकोटा ११ महिनादेखि सो घरमा खाना पकाउने काम गर्दै आएका थिए भने राईले डेढ महिनाअघि मात्र सो घरमा काम गर्न सुरु गरेकी थिइन्। अभियुक्तहरुले हिरा, सुन, चाँदीका गहनाका अतिरिक्त विदेशी मुद्रा, विभिन्न मुलुकका पुराना सिक्का, घडी, पोते, माला, क्यामेरा चोरी गरेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए। रासस

You Might Also Like This

 

Pages