Sunday, 16 December 2012
प्याकेजमा सहमति त भयो तर कहीं मिल्यो, कहीं मिलेन ?
१ पुस,दुवै पक्षले जित्ने गरी अर्थात ‘वीन-वीन’ सहमतिको खोजीमा जुटेका दलहरु बाबुराम सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने कि नदिने भन्ने बिषयमा अल्झिएका छन् ।दैनिकजसो सधन छलफलमा जुटिरहेका कांग्रेस र माओवादी नेताहरुवीच अहिलेकै बाबुराम सरकारले संबिधान संसोधन गर्ने वा कांग्रेस र एमालेसमेत सहभागी भएको राष्ट्रिय सहमतिको सरकारले भन्नेबारे सहमति जुट्न सकेको छैन् ।
छलफलका सहभागी नेताहरुका अनुसार नेपाली कांग्रेस बाबुराम सरकारले निर्वाचनको मिति तोक्न र अध्यादेश ल्याउन सहमत भएपनि बाबुराम सरकारमा सहभागी हुन भने मानेको छैन् । दलीय सहमतिका आधारमा यही सरकारले अध्यादेश पारित गरि राष्ट्रपतिकहाँ पठाउनुपर्ने कांग्रेसको प्रस्ताव छ ।
माओवादीले भने काँग्रेसको नेृतत्वमा माओवादी सहभागी हुने भए बाबुरामको सरकारमा केही छिनकै लागि भए पनि सहभागी हुनुपर्ने बताइरहेको छ । ‘धेरै कुरा मिले पनि उहाँहरु बाबुराम सरकारमा आउन मान्नु भएको छैन’ प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले भन्नुभयो-’हामीले केही दिन भए पनि यो सरकारमा आउनुपर्छ भनेका छौं ।’
निर्वाचन, संबैधानिक निकायमा नियुक्ति लगायतका अध्यादेश पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि राष्ट्रपतिले कहिले स्वीकृत गर्ने, बाबुराम सरकार त्यसपछि कति समय रहने र सुशील कोइरालालाई कहिले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने प्राबिधिक बिषयमा पनि दुई दलवीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले मन्त्रिपरिषद्ले अध्यादेश पारित गर्ने, राष्ट्रपतिले स्वीकृत गर्ने र सुशीललाई प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया एकैदिन हुनुपर्ने अडानमा छ ।
माओवादी अध्यक्ष प्रचण्डले बिगतको संबिधानसभाले गरेका सहमतिलाई आगामी संबिधानसभाले पनि मान्नुपर्ने मात्र हैन, अनौपचारिकमात्र सहमति भएको शासकीय स्वरुपको कुरा पनि मान्नुपर्ने सर्त राखेका थिए । तर, कांग्रेसले यी दुवै प्रस्तावलाई अस्वीकार गरेको छ ।
दुवै पक्ष आशावादी-एमाओवादी, कांग्रेस र एमाले नेताहरुबीच चलिरहेको छलफल सकारात्मक रहेको र ‘विन-विन सहमति’को खोजी भइरहेको नेताहरुले बताएका छन् । ‘दलहरुबीच भइरहेको छलफल सकारात्मक छ’ कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरसँग भन्नुभयो-’हामी विन-विन सहमतिको खोजीमा छौं ।’ एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले पनि अब हुने सहमतिमा सबैको जीत हुने बताउनुभयो ।
सहमतिको प्रयासमा आइतबार बिहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र नेता मिनेन्द्र रिजाललाई आफ्नै निवास लाजिम्पाटमा छलफल गरेका एमाओवादी अध्यक्ष प्रचण्डले दिउँसो बानेश्वरस्थित एक एमाले नेताको घरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।
आइतबार नै राष्ट्रपतिलाई भेटेका प्रचण्डले कांग्रेस-एमालेसँगको छलफल सकारात्मक भएको भन्दै देश अब सहमतिको बाटोमा गएको बताउनुभएको छ ।