प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले राजनीतिक निकासका लागि सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई विकल्पको रुपमा अघि सार्न तयार रहेको बताएका छन्।
रिपोर्टर्स क्लबमा बोल्दै उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई निषेध गरेर नेपाली काग्रेसका सभापति सुशिल कोइरालालाई स्वीकार्न नसकिने भन्दै पार्टीको पहिलाको निर्णयअनुसार नै बाबुराम भट्टराईको विकल्पमा सत्तारुढ गठबन्धन उमेदवार दिन तयार रहेको प्रष्ट पारे।
पौडेलले भने, - 'बाबुरामजीलाई दलित जस्तो ब्यवहार गरेर निकास निस्कन सक्दैन। हामिसँग बाबुरामजीको विकल्प छैन भन्ने कुरा होइन। काग्रेसले निषेधको राजनीति गर्ने हो भने सत्तारुढ गठबन्धनबाटै विकल्प आउँछ। यदि निकास चाहेकै हो भने गठबन्धनले प्रचण्डजीको नाम अघि सार्छ।'
दुई चरणमा सहमति गरेर नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्री तयार रहेको उल्लेख गर्दै पहिलो चरणमा संविधानसभाको निर्वाचनको मिति घोषणा, रिक्त संबैधानिक आयोगमा पदपुर्ति र संविधान संसोधन लगायतका विषयलाई प्याकेजमै सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिमा रुपान्तरण गरेर काग्रेसलाई नेतृत्व हस्तान्तरण गरिने उनले स्पष्ट परे।
उनले भने- 'यदि काग्रेस र एमालेले निकास खोजेका हुन भने सरकारको सहभागितामा निकास तत्काल निकास खोज्नु पर्छ नभए बैशाखमा निर्वाचन हुन सक्दैन।'
प्रधानमन्त्री बाबुराम भट्टराईलाई अहिले पनि विघठित संविधानसभाको बहुमत समर्थन भएको भन्दै उनले नभए सम्भावित प्रधानमन्त्रीको उमेदवारको रुपमा जनमतसंग्रहमा जान समेत उनले चुनौति दिए। उनले भने-बाबुरामजीलाई कसैले प्रधानमन्त्री पद किस्तिमा राखेर दिएको होईन, मन लाग्दा हटाउने र राख्ने।
सबै दलले जित्ने गरी विन विन अवस्थामा निकास खोज्न आग्रह गर्दै उनले प्याकेजमा सहमति भए नेपाली काग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्व स्वीकार गर्न समेत तयार रहेको पौडेलले स्पष्ट पारे।
नेपाली काग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्रीको सम्मानजन बर्हिगमनको लागि काग्रेस तयार रहे पनि अहिलेको सरकारको नेतृत्वमा काग्रेस जाने कुरा असम्भव रहेको स्पष्ट पारे।
निर्वाचनको मिति, बाधा अड्काउ फुकाउ, निर्वाचन कानून बनाउने, क्षेत्र निर्धारण, संविधानसभाको सदस्य संख्या र निष्पक्ष निर्वाचनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको विषयमा पटक पटक छलफल भएर सहमतिको नजिक पुगे पनि प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सहभागिताको कुरा उठाएर सहमति भाडेको खुलास उनले गरे।
त्यसको विरुद्धमा काग्रेसलाई आर्कषक मन्त्रालयको प्रस्ताव गरेर पार्टी फुटाउने षडयन्त्र प्रधानमन्त्रीले गरेको भन्दै रिजालले काग्रेसले सत्ताको लागि सिद्धान्त नसाट्ने दावी गरे।
उनले बाधा अडकाउन फुकाउने र आफ्नो नेतृत्वमा काग्रेस एमाले आउनु पर्छ भन्ने कुरा आफ्नो सत्ता अकण्टक बढाउने चाल भएको दावी गर्दै भने-जसरी पनि सत्ता टिकाउन लागेको प्रधानमन्त्रीको नेतृत्वमा गएर काग्रेस मुलुकमा अर्को सर्वसत्ताबाद लादन चाहदैन। सम्मानजनक बर्हिगमन चाहने प्रधानमन्त्रीले अरुलाई पनि सम्मान गर्न सिक्नु पर्छ।
रिजालले काग्रेसले प्रधानमन्त्रीको सम्मानजनक बर्हिगमन चाहेको भए पनि त्यसको नाममा सर्वसत्ताबादको मतियार बन्न भने तयार नरहेको स्पष्ट पारे।
उनले अझै पनि सहमतिको लागि काग्रेसले प्रयत्न गर्ने स्पष्ट पार्दै वार्ताको साथै असहयोग आन्दोलनलाई पनि निरन्तरता दिने बताए।
प्रधानमन्त्रीलाई धु्रबे हात्तीको संज्ञा दिँदै रिजालले प्रधानमन्त्रीले छिमेकी भारत र नेपाली सेनालाई द्धन्द्धमा तान्ने प्रयास गरेको भन्दै असन्तुष्टि समेत ब्यक्त गरे।
