सुन्दा अनौठो लागे पनि तस्वीर आफैं बोलिरहेको छ, हालै नेपालका सबै ठूला नेताहरुले गमलामा डल्ले खुर्सानीको बोट रोपेका छन् । गमलामा खोर्सानी रोप्ने नेताहरुमा राष्ट्रपति डा. रामवरण यादव, पूर्वराजा ज्ञानेन्द्रदेखि प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली, रामचन्द्र पौडेल, मोहन वैद्य, मोहनविक्रम सिंह, सीपी गजुरेल र तमलोपाका सर्वेन्द्रनाथ शुक्लसमेत रहेका छन् ।
यसरी नेतालाई खुर्सानी रोपाउने कामचाँहि ‘अष्ट ज अभियान’ले गरेको हो । कृषिप्रति नेताहरुको ध्यान जगाउन भन्दै नेताहरुका घरघरमा गएर गमलामा खोर्सानी रोप्न लगाई नियमित पानी हाल्न र फलाएर खान ‘अष्ट ज’ले नेताहरुलाई भनेको छ । कम्युनिष्ट नेता लोकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले निर्मल निवासमे पुगेर पूर्व राजा ज्ञानेन्द्रलाई खुर्सानी रोपाएको थियो भने राष्ट्रपतिलाई शीतलनिवासमा र अन्य नेतालाई प्रत्येकको निवासमा गमला र खुर्सानीको बोट पुर्याइएको थियो ।
तर, नेताहरुले सहमति र सहकार्यद्वारा देश र जनतालाई सिंचित गर्न नसके पनि घर-घरमा रोपेको खुर्सानीमा पानी हालिराखेका होलान् त ? यो भने ‘अष्ट ज’को टोलीले निरीक्षण गरेपछि मात्रै थाहा होला ।