Wednesday, 9 January 2013
दिल्लीमा भएको बलात्कारकाबारे प्रत्यक्षदर्शीद्वारा अन्तर्वार्ता
नयाँ दिल्ली - भारतको नयाँ दिल्लीमा गत डिसेम्बर १६ तारिखमा एक युवतीमाथि भएको सामूहिक बलात्कारका प्रत्यक्षदर्शी तथा ती युवतीका साथीले घटनाबारे पहिलोपटक अन्तर्वार्ता दिएका छन् ।
नाम नखुलाउने सर्तमा उनले सञ्चारमाध्यमा दिएको अन्तरर्वार्ताका क्रममा युवती माथि भएको बलात्कारको सम्पूर्ण विवरण बताएका थिए । उनले उक्त घटना निकै डरलाग्दो र घृणित भएको बताएका छन् ।
युवकका अनुसार युवतीसंग चलचित्र हेरी उनी एक निजि बसमा घर फर्कन लाग्दा बसका चालकले घृणित तरिकाले युवतीलाई हेरेको तथा बसमा रहेका अन्य पाँच जनाले ढोका थुनेका थिए । त्यसपछि उनीहरुले रडले आफूमाथि आक्रमण गरेको र युवतीलाई चालक भएको क्याविनमा लगेर बलात्कार गरेको समेत बताए ।
बलात्कारपछि उनीहरुले युवतीको गुप्ताङ्गमा रडले आक्रमण गरेको उनले बताए । प्रतिकार गर्न खोज्दा उनीहरुको आक्रमणमा आफ्नो खुट्टा भाँचिएको उनले बताए । उनले यस्तो क्रुरता पूर्ण घटना आफूले कहिले नदेखेको मात्र नभई कहिले नसुनेको समेत बताए ।
आफूहरुमाथि त्यस्तो क्रुर व्यवहार नगर्न आफूले कैयौं पटक आग्रह गर्दा पनि उनीहरुले नमानेको उनले बताए । उनीहरुले बसबाट फाल्नु अघि करिब दुई घण्टा सम्म शहरको विभिन्न भागमा बस गुडाएको उनले बताए ।
आफूहरुलाई निर्वस्त्र पारिएर बसबाट फालिएको तथा करिब २५ मिनेट सम्म आफूहरुलाई स्थानीय मानिसहरुले कुनै सहयोग नगरेको उनले बताए ।
अन्त्यमा सुरक्षाकर्मी आएपनि कसको क्षेत्र हो भनी अन्यौलमा परेको उनले बताए । बलात्कारपछि उपचारका क्रममा डिसेम्बर २९ मा युवतीको सिंगापुरमा निधन भएको थियो ।