Sunday, 6 January 2013
ग्यास गिजरले ज्यान जाने खतरा
तातोपानीले नुहाउन ग्यास गिजर प्रयोग गर्दा बेहोस हुने घटना बढ्दै गएको छ । जाडोमा न्यानोका लागि ‘बाथरुम’ बन्द गरेर गिजरको पानीले नुहाउँदा अक्सिजन अभावमा केही दिनअघि एक महिलाले ज्यान गुमाएकी थिइन् ।
कपनका १९ बर्षे किशोर नुहाउँदै गर्दा बेहोस भए । हतार हतार उनलाई नजिकैको मेडिकल अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा उनको होस खुलेको थियो । परिवारका सदस्यले चाँडै थाहा पाएकाले बाथरुममा धेरै ग्यास जम्मा नहुँदा उनको ज्यान बचेको थियो । अस्पतालमा यस्ता खाले घटनाहरु आइरहेको आकस्मिक कक्षकी नर्स मुना गुरागाईले भनिन् ।
यो बर्ष जाडो सुरु भएपछि यस्तै घटनामा एकजनाको मृत्यु भइसकेको छ । ललितपुर कसुन्तीकी २८ बर्षकी मुका फरमुजाइ पनि नुहाउनेक्रममा पुस ३ गते बेहोस भएको खबर नागरिक दैनिकले छापेको छ ।
ग्यास गिजरलगायत कोठा तातो बनाउने क्रममा निसासिएर बेहोस हुने घटना पनि बढेको पाट अस्पताल आकस्मिक विभाग प्रमुख डा. भरतकुमार यादबले बताए । ‘पोहोर पनि हाम्रो अस्पतालमा यस्ता थुप्रै केस आएका थिए, अहिले पनि आउन थालिसकेका छन्,’ उनले भने ।
चिसो मौसमका कारण बाहिरबाट हावा नआओस् भनेर बाथरुमको भ्यान्टिलेसन समेत बन्द गरेर गिजर चलाउने भएकाले बेहोस र मृत्युका घटना हुने गरेको चिकित्सकहरुले बताएका छन् ।