पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्ला दिनमा भएका महिला हिंशाका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
केही साता अघि सिंगापुर गएका ज्ञानेन्द्रले आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने ‘नेपालमा बढेको महिला हिंशा निन्दनिय छ । यस्ता क्रियाकलापमा संलग्न हुनेलाई कारबाही गर्नुपर्छ ।’ ज्ञानेन्द्रले महिला हिंसामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।
पूर्व राजा गत मंसिर २२ गते सिंगापुर गएका थिए । पूर्व रानी कोमलको उपचारका लागि सिंगापुर गएको भनिएका ज्ञानेन्द्रले दर्जनौ आफ्न्तलाई सँगै लिएर सिंगापुर उडेका थिए । पूर्व युवराज पारस शाह लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा थाइल्यान्डमा पक्राउ परेको खबर पाएपछि उनी त्यहाँ पुगेका आंशका समेत गरिएको थियो ।
तर ज्ञानेन्द्र भने पूर्व रानी कोमलको उपचारकै लागि सिंगापुर गएको स्रोतले बताएको छ । वीरेन्द्रको पूर्ण वंश नाश हुने गरी ०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा कोमलको छातीमा लागेको छर्रा अझै झिक्न नसकिएकाले कोमलको उपचारका लागि अस्पताल धाइरहनु पर्ने स्रोतले बताएको छ ।